जनता टाइम्स

३ माघ २०७६, शुक्रबार १२:३२

बैंकको ऋणमा डुबेर वडाध्यक्षले नै जब विष सेवन गरे…


बाँके, माघ ३

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ऋण तिर्न नसकेपछि आत्महत्या गरेका छन् । ६८ वर्षीय खड्काले भारतको बहराइच पुगेर एक होटलमा आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो । सुसाइड नोटमा बैंकको ऋण तिर्न नसकेकाले आत्महत्या गरेको उल्लेख छ ।

खड्काले पुस २९ गते भारतको बहराइचस्थित शंकर होटेलमा विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । कोहलपुरका मेयर लुटबहादुर राउतले खड्काले विषादी सेवन गर्नु पहिले लखेको पत्रमा बैंकले ऋण चुक्ता गर्न निकै ताकेता गरेको हुँदा सहन गर्न नसकेर आत्महत्या गरेको व्यहोरा रहेको जानकारी दिनुभयो ।

उहाँको बैंकमा २०–२२ लाख रुपैयाँ ऋण रहेको देखिएको छ । ‘त्यो ऋण तिर्न भनेर बैंकले निकै सताएको भन्ने कुरा उहाँले पत्रमा लेख्नुभएको छ,’ मेयर राउतले भन्नुभयो, ‘त्यसमा छोराहरूले समेत आफूलाई कुनै सहयोग नगरेको भन्ने कुरा पनि लेख्नुभएको छ।’

खड्काले आत्महत्याको लागि उपयुक्त स्थान भारतको बहराइचस्थित शंकर होटल देखेको हुँदा त्यहाँ आएर विषादी सेवन गरेको भन्दै होटल साहुलाई केही पनि दुःख नदिन आग्रहसमेत गर्नुभएको छ । जाजरकोटबाट बसाइँ सरेर कोहलपुर आएका वडा अध्यक्ष खड्का पुस २९ गते बिहान ७ बजेतिर सुर्खेतको मेहलकुना जान भनी घरबाट निस्केको पारिवारिक स्रोतले जनाएको छ ।