जनता टाइम्स

३ माघ २०७६, शुक्रबार १६:४६

गायिका राउतमाथी प्रहरीमा उजुरी, अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी


काठमाडौं, माघ ३

विमानस्थल सुरक्षा जाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले आफूलाई गायिका अस्था राउतले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएकी छन् । उनले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा गायिका राउतविरुद्ध उजुरी दिएकी हुन् ।

राउतले विमानस्थलमा सुरक्षा जाँचमा खटिएकी महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेकी थिइन् । उनले आफूलाई महिला प्रहरीले तँ भनेको भन्दै भिडियोमा आक्रोश व्यक्त गरेकी थिइन् । प्रहरी जवान श्रेष्ठले गायिका राउतले आफू ड्युटीमा रहेको अवस्थामा गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडिओ तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाएको छ । उक्त प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन् ।

ती दुबै भिडिओ अनुसन्धानमा प्रहरी जुटेको छ । दुबै भिडिओ अनुसन्धानपछि आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं वा गौशाला वृत्तलाई जिम्मा लगाउने तयारी रहेको मेट्रोले जनायो ।