जनता टाइम्स

३ माघ २०७६, शुक्रबार १८:२४

अमेरिकाले भन्यो : एमसीसी सैन्य विषयमा जोडिएको छैन


काठमाडौं, माघ ३

नेपालस्थित अमेरिकी दूतावासले एमसीसी परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको बताएको छ । दूतावासले शुक्रबार एक विज्ञप्ती निकाल्दै यो कुनै सैन्य गतिविधिसँग जोडिएको विषय नभएको स्पष्ट पारेको हो ।

‘यी सबै परियोजनाहरू नेपाल आँफैंले नेपालको प्राथमिकता अनुसार छनौट गरेको र नेपालीहरूले आफ्नै नेतृत्वमा नेपालको आर्थिक विकासका लागि कार्यान्वयन गर्ने परियोजनाहरू हुन्’, विज्ञप्तीमा भनिएको छ । ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानुनले कुनैपनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ। एमसीसीमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनुपर्दैन वा हस्ताक्षर गर्नुपर्दैन’, दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

दूतावासले यो विशुद्धरूपमा आर्थिक विकासमा केन्द्रित भएको बताएको छ । विद्युत लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य रहेको पनि दूतावासले स्पष्ट पारेको छ । साथै दूतावासले त्यस बेला भएको सहमति पत्रको अंग्रेजी र नेपाली संस्करण समेत सार्वजनिक गरिदिएको छ ।

सहमति पढ्न यहा क्लिक गर्नुहोस्