जनता टाइम्स

४ माघ २०७६, शनिबार ०९:५१

काठमाडौंमा मुख्य सडकमा स्मार्ट स्ट्रिट लाईट जडान गर्ने तयारी


काठमाडौं, माघ ४

काठमाडौंका मुख्य सडकमा स्मार्ट स्ट्रिट लाईट (सडक बत्ती) राखिने भएको छ । यो लाईट सवारी र यात्रुको हलचलमा निर्भर गरेर बल्ने र निभ्ने गर्दछ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा बसेको सडक विभाग, काठमाडौं महानरगपालिका, ललितपुर महानगरपालिका, किर्तिपुर, भक्तपुर नगरपालिका, नेपाल विद्युत प्राधिकरण लगायतका सरोकारवाला निकायको बैठकले यस्तो बत्ती राख्ने निर्णय गरेको हो ।

सामान्य सडक बत्तीभन्दा भिन्न हुने यो स्मार्ट सडक बत्ती कसैले बाल्नुपर्दैन । आफै बल्छ अनि निभ्छ पनि । रातपरेपछि बल्छ भने दिनमा निभ्छ । रातमा मानिस र सवारीसाधनको मुभमेन्ट भैरह्यो भने बलिरहन्छ तर मुभमेन्ट घट्यो भने विस्तारै पावर पनि घट्दै जान्छ । यो बत्तीमा एउटा अर्को फिचर पनि हुन्छ । त्यसमा जोडिएको विशेष प्रकारको सिसी क्यामेराले सवारीसाधनको इम्वोस्ड नम्वरप्लेट पनि पढ्न सक्छ ।

बैठकले चालु आर्थिक बर्षभित्र केहि मुख्य रुटमा स्मार्ट सडक बत्ती राख्ने निर्णय भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो । एयरपोर्टदेखि सोल्टीमोड, त्रिपुरेश्वर, महाराजगंज, नवनिर्मित रिङरोड, सुर्यविनायक–कोटेश्वर, वालुवाटर एरियामा सडक बत्ती राख्न लागिएको छ । त्यस्तै अरु केहि रुट पहिचान गरेर राखिनेछ ।

विस्तारै उपत्यका भरीनै स्मार्ट सडक बत्ती राख्ने योजना बनाईएको छ । यो सडक बत्ति भने सोलारबाट नभै डाईरेक्ट विद्युतबाट बालिने छ । अहिलेको सोलार सडक बत्ती जुनकिरी जस्तै मधुरो भएको भन्दै पावरफुल (उज्यालो) बत्ती राख्न लागिएको हो । यो सडक बत्तीका लागि लाग्ने लागत सबै निकाय मिलेर व्यहोर्नेछन् ।