जनता टाइम्स

४ माघ २०७६, शनिबार १०:५८

सचिवालय बैठकले एमसीसीबारे आवश्यक निर्णय लिन्छ : नेकपा प्रवक्ता श्रेष्ठ


म्याग्दी, माघ ४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे पार्टीले आवश्यक निर्णय लिने बताउनु भएको छ । उहाले राष्ट्रिय हितलाई केन्द्रमा राखेर पार्टीबाट निर्णय हुने स्पष्ट पार्नुभयो ।

प्रेस संगठन नेपाल, म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले पार्टीको सचिवालयले राष्ट्रिय स्वाधिनता र विकासलाई ध्यान दिएर यथार्थपरक ढंगबाट एमसिसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने बताउनु भयो । अब बस्ने सचिवालय बैठकले यसविषयमा निर्णय लिने जानकारी दिनुभयो ।

यस्तै, प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभाको सभामुख चयनबारे देखिएको अन्यौलताले छिट्टै निकास पाउने पनि बताउनु भयो । नेकपाकै तर्फबाट सभामुखको उम्मेदवारी दिनका लागि उपसभामुखको राजीनामा अनिवार्य भएको बताउँदै नेता श्रेष्ठले माघ ६ मा आह्वान गरिएको प्रतिनिधिसभा बैठक अगावै यस विषयले निष्कर्ष पाउने बताउनु भयोे । उहाले दुई पार्टी मिलेर नेकपा बनिसकेको र पूर्वएमाले र पूर्वमाओवादी इतिहासमा मात्रै लेखिने र पार्टीको नियमित कार्यमा नजोडिने दाबी समेत गर्नुभयो ।