जनता टाइम्स

५ माघ २०७६, आईतवार १४:२४

गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति


काठमाडौं, माघ ५

गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी आरोपमा गायिका राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पक्राउ गर्न अनुमति दिएको जनाइएको छ । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्तमा परेकी छन् ।

गत बधुबार काठमाडौँ–भद्रपुर उडानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचको क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो आक्रोस शैलिमा सन्देश जारी गरेकी थिइन् । उनलाई महिला प्रहरी जवानले ‘तँ’ भनेको भन्दै भनेकी छन्, ‘मेरो हातमा कफी थियो, यसैले, मैले आफैँ चेक गर्नुहोस् भने, तर उसले मलाई ज्याकेट खोल भनेर बोलिन्, त्यही हो बोल्ने पारा ? यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

गायिका राउतले अगाडि भनेकी छन्, ‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, यत्रो दर्शन । कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ ।’ भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो ।

त्यसक्रममा संकलन गरिएको फुटेजबाट आस्थामाथि दुर्व्यवहार नभइ, उनले महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएको प्रहरीको दाबी छ । त्यसपछि श्रेष्ठले पनि अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत किटानी जाहरी दिएकी थिइन् ।