जनता टाइम्स

५ माघ २०७६, आईतवार १५:३४

यसकारण गरियो काठमाडौँ उपत्यकाको माटो र चट्टानको सतह मापन


काठमाडौं, माघ ५

त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पस स्नातकोत्तर भूगर्भविद् र पुल्चोक क्याम्पस स्नातकोत्तर तह भूपूविधि विषयका विद्यार्थीले उपत्यकाको माटो र चट्टानको सतह मापन गर्ने भएका छन् । गत शनिबारदेखि यहाँ चलेको पाँचदिने तालीममा थाइल्याण्डको सिभिल इन्जिनीयरिङ थाम्मास्याट विश्वविद्यालयको सहयोगमा ‘भूकम्पीय जोखिम निराकरणका लागि भूकम्पीय प्रभावित क्षेत्रको सूक्ष्म अध्ययन’ विषयमा मुलुकमा भविष्यमा आउने भूकम्पीय जोखिम निराकरण र सोबाट हुने मानवीय क्षति रोक्न सोबारे अध्ययन र अनुसन्धान गर्न लागिएको बताइएको छ ।

कार्यक्रममा डा. दीपक चौलागाईंले तालीमपछि भूकम्पीय दृष्टिले काठमाडौँ उपत्यकामा कहाँको जमीनमा संरचना बनाउन उपयुक्त छ र कहाँ छैन भन्ने जानकारी दिने बताउनुभयो । उहाँले भन्नुभयो, “थाइल्याण्डको विश्वविद्यालयबाट ल्याइएको प्रविधि ‘माइक्रो टे«मर’ र नेपालमा रहेको ‘बेसिन जोमेट्री’ प्र्रविधि प्रयोग गरी तालीममा हामीले विद्यार्थीलाई उपत्यकाको माटो र चट्टानको बनोट, माटोको सतहबारे अध्ययन र अध्यापन गराउन सक्छौं ।”

नेपालमा पहिलोपटक भित्र्याइएको माइक्रो ट्रेमर प्रविधिले भविष्यमा आउने भूकम्पको तरङ्ग र यसको विश्लेषण, भूकम्पको माटोसँगको प्रतिक्रिया, युवापुस्तामा भूकम्पीय प्रविधिको प्रयोग गर्न सक्ने क्षमता, देशमा रहेका हिमालयको भौगर्भिक अवस्था, माइक्रो टे«मरको प्रयोग, भूकम्पीय क्षेत्रको स्थलगत अध्ययन, तथ्याङ्क सङ्कलन, विश्लेषण र भूकम्पीय प्रकोप नक्साङ्कनमा जोड पुगी नेपाली विद्यार्थीलाई क्षमतावान् बनाउने तालीमको उद्देश्य रहेको चौलागाईंले जानकारी दिनुभयो ।

तालीममा त्रिचन्द्र बहुमुखी क्याम्पस र पुल्चोक क्याम्पस इञ्जिनीयरिङका २० विद्यार्थीले भाग लिइरहेका छन् । त्रिचन्द«का भूगर्भविद् विभागका वरिष्ठ प्रा. डा. तारानिधि भट्टराईले एउटा भवनबाट अर्को भवन रहेको जमीनको सतहमा पुग्दा त्यहाँ धेरै भिन्नता देखिने बताउनुभयो । उहाँले भन्नुभयो, “एक स्थानमा रहेको पृथ्वीभित्रको माटाको प्रकार र अर्को स्थानमा रहेको माटाको प्रकार भिन्न रहने हुँदा भूकम्पले केही स्थानमा बढी त केही स्थानमा कम क्षति पुर्याउने गर्छ ।”

भूकम्प आउँदा सबै स्थानमा एकै किसिमको क्षति नहुनाको कारण जमीनको अवस्थामा भर पर्ने भट्टराईले बताउनुभयो ।यसैगरी सो क्याम्पसका डा. अनन्त गजुरेलले मुलुकमा पूर्वाधार विकासका लागि भूगर्भ विधाको प्रयोग कसरी गर्ने भन्ने विषयमा विद्यार्थीलाई जानकारी गराई भविष्यमा हुने जोखिम निराकरण गरिने बताउनुभयो । थाइल्याण्डका थामस्याट विश्वविद्यालय सिभिल इञ्जिनीयरिङ विषयका प्रा.डा. नकहर्न पुभारोडोमले २०७२ को गोरखा भूकम्पले पुर्याएको असरलाई भविष्यमा रोक्न आफूले सक्दो योगदान गर्न लागिपरेको जानकारी दिनुभयो ।

पुल्चोक क्याम्पसका प्रमुख प्राडा लक्ष्मण पौडेलले शुद्ध विज्ञान र व्यावहारिक विज्ञानको प्रयोगबाट विद्यार्थीले समाजमा व्यापक क्षेत्र ओगट्न सक्ने औँल्याउनुभयो । पुल्चोक क्याम्पस स्नातकोत्तर भूगर्भविद् कार्यक्रम सञ्चालक डा. इन्द्रप्रसाद आचार्यले सो तालीमबाट राष्ट्रका लागि केही गर्न सक्छु भन्ने विद्यार्थी उत्पादन गर्न लागिपरेको बताउनुभयो । उक्त तालीम विभिन्न मुलुकमा रहेका २५ हजार वैज्ञानिकको कोषबाट प्राप्त रकमबाट सञ्चालन भइरहेको बताइएको छ ।