जनता टाइम्स

५ माघ २०७६, आईतवार १५:५८

सुदूरपश्चिम प्रदेशका सवै जिल्लामा अव सामाजिक विकास कार्यालय स्थापना हुने


धनगढी, माघ ५ । संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारबीच पनि जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सहमति भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच शनिबार धनगढीमा भएको भेटवार्तामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सैंद्धान्तिक सहमति भएको हो ।

संघीय सरकारले कर्मचारीको व्यवस्थापन गर्नेगरी सुदूरपश्चिम प्रदेशका जिल्लामा पनि सामाजिक विकास कार्यालय स्थापना गर्ने सैद्धान्तिक सहमति गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गुरुङले जानकारी दिनुभयो । भेटमा मन्त्री गुरुङले छाउगोठलगायतका सामाजिक कूरीति अन्त्यका लागि सहकार्यका साथ काम गर्न मुख्यमन्त्री भट्टसँग आग्रह गर्नुभएको थियो ।

मुख्यमन्त्री भट्टले पनि संवैधानिक व्यवस्था अनुसार सबै तहको सरकारसँगको सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । भेटमा मन्त्री गुरुङले अपांगमैत्री भौतिक पूर्वाधार निर्माणमा केन्द्रित हुन पनि प्रदेश सरकार र स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

भेटवार्ता संघीय संसदको महिला तथा सामाजिक विकास समितिकी सभापति निरुदेवी पाल, सूदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री पठानसिंह बोहोरालगायतका उपस्थिति रहेको थियो ।

यसअघि मन्त्री गुरुङले सामाजिक विकासमन्त्री प्रदेश-१ का जीवन घिमिरे, प्रदेश-२ का नवलकिशोर साह, गण्डकी प्रदेशका नरदेवी पुन, प्रदेश ५ का सुर्दशन बराल र कर्णाली प्रदेशका दल रावलसँग गत बुधबार ललितपुरमा सामूहिक भेट गरी सामाजिक क्षेत्रको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सहमति जुटाउनुभएको थियो ।