जनता टाइम्स

५ माघ २०७६, आईतवार १६:२२

प्रदेश १ मा दोस्रो पटक सरकार विस्तार, चार राज्यमन्त्री नियुक्त


विराटनगर, माघ ५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश कमिटीले मन्त्री नियुक्त गर्न निर्देशन दिएसँगै प्रदेश १ का मुख्यमन्त्री शेत्रधन राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । शनिबार मात्रै निर्देशन पाएपछि उहाँले आज चार राज्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाको जसमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी लिइएको छ । सात वटा मन्त्रालय प्रदेश १ मा छन् । तर प्रदेश सरकार गठन भएको दुई वर्षसम्म भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन सकेको छैन । दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राख्नुभएको छ । उहाँले मन्त्री पद रिक्त राखेर राज्यमन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त राज्यमन्त्रीहरुले आज सपथ लिएका छन् ।