जनता टाइम्स

५ माघ २०७६, आईतवार १७:२८

सभामुख चयनका विषयमा नेकपाको सचिवालयमा छलफल, आजै सहमति जुटाइने


काठमाडौं, माघ ५

सत्तारुढ नेकपाको सचिवालय बैठकमा सभामुख चयनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सभामुखको उम्मेदवार चयन गर्ने बताइएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज विहान भएको छलफलमा सहमति जुटेपछि सचिवालय बैठक आव्हान गरिएको छ । अग्‍निप्रसाद सापकोटा र सुवास नेम्वाङ मध्ये एक जना सभामुख बन्ने पक्का भएको छ ।

स्रोतका अनुसार सापकोटाको नाममा लगभग सहमति बन्ने पक्का जस्तै भएको छ । ‘दुई अध्यक्षबीच करिब–करिब सहमति जुटेकाले सचिवालय बैठकमा छलफल भईरहेको एक सदस्यले जानकारी दिनुभएको छ ।

सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।