जनता टाइम्स

६ माघ २०७६, सोमबार ०६:३१

भत्काइएको छाउगोठको अनुगमनपछि मन्त्री गुरुङको अपिल : मनको छाउगोठ भत्काउनु पर्छ


अछाम, माघ ६ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले छाउगोठ मुक्त नेपाल बनाउने अभियानमा साथ दिन प्रदेश र स्थानीय सरकारलाई आह्वान गर्नु भएको छ ।

छाउगोठ अन्त्य गर्ने अभियानको अनुगमन गर्न आईतबार अछाम आइपुग्नु भएकामन्त्री गुरुङले छाउगोठ राख्ने सामाजिक कूरीति र अन्धविश्वासको अन्त्य गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गर्नु भएको हो । साफेबगर नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले छाउगोठ मुक्त गर्ने अभियानमा जुटेका साफेबगर नगरपालिकाका जनप्रतिनिधिहरुलाई धन्यवाद दिनुभयो ।

‘एक्काईसौं सताब्दीमा पनि ‘जनविश्वास’को रुपमा रहेको छाउपडी जस्तो अन्धविश्वासलाई अन्त्य गर्न प्रदेश र स्थानीय सरकारले अभियाननै संचालन गरिरहेको छ, मन्त्री गुरुङले भन्नुभयो, ‘छाउगोठ भत्काउने मात्रै नभई मनको छाउगोठ भत्काउन विशेष अभियाननै संचालन गर्नु पर्दछ ।’ यसअघि मन्त्री गुरुङले अछामको विभिन्न स्थानमा भत्काइएका छाउगोठको अनुगमन पनि गर्नु भएको थियो ।