जनता टाइम्स

६ माघ २०७६, सोमबार १०:१०

राजिनामा दिन उपसभामुख तुम्बाहाम्फेको दुई शर्त, अध्यक्षद्वय छलफलमा


काठमाडौँ, माघ ६

उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिनु अगाडी नेतृत्वसँग लिखित जवाफ माग गर्नुभएको छ । नेकपाबाट उपसभामुखमा विजयी उहाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग दुई प्रश्नको लिखित जवाफ माग गर्नुभएको हो ।

उहाले ‘मेरो के कमजोरी छ र मैले उपसभामुखबाट राजीनामा दिनुपर्छ ?’ र ‘म सभामुख हुन अयोग्य कसरी भएँ ?’ भन्ने प्रश्नको जवाफ नेतृत्वले दिएपछि मात्र राजिनामा दिने अडान राख्नु भएको स्रोतले जानकारी दिएको छ । नेकपाले आइतबार सभामुखको उम्मेदवार टुंगो लगाएसँगै आज बस्ने प्रतिनिधिसभाको बैठकले सभामुख चयनको प्रक्रिया थाल्ने सम्भावनाका बीच उपसभामुखको सो अडान आएको हो ।

उपसभामुखसँग आज नेतृत्वले पुनः छलफल गर्दैछ । त्यसअघि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल चलिरहेको छ । सभामुख पदमा स्थायी समिति सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाउने र उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा गराउने निर्णय नेकपाको सचिवालय बैठकले लिइसकेको छ।