जनता टाइम्स

६ माघ २०७६, सोमबार ११:१८

हराईरहेका चार कोरियालीसहित ७ नागरिक खोज्न सेनाको हेलिकप्टर परिचालन


पोखरा, माघ ६

अन्नपूर्ण आधारशिविर पदयात्रामा निस्केर हराईरहेका चार कोरियालीसहित ७ जना खोज्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । चार दिनदेखि हराइरहेका ४ कोरियाली र ३ नेपालीको खोजी गर्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर उडेको हो ।

अन्नपूर्णको देरालीबाट हराइरहेका उनीहरुको खोजी गर्न गएको उक्त हेलिकप्टरमा नेपाली सेनाका ९ सैनिक, हिमालयन उद्धार एसोसियसनका एकजना गाइड, नेपाल पर्वतारोहण एसोसियसनका अध्यक्ष सन्तवीर लामा, टानका एक प्रतिनिधि र स्थानीय प्रतिनिधि छन् । हराइरहेका एकजना नेपाली गाइडका भाइसमेत हेलिकप्टरमा उद्धार टोलीसँगै गएको पर्यटन विभागकी मिरा आचार्यले बताउनु भयो । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले सेना र हेलिकप्टरसहित खोजी गर्नका लागि आइतबार अनुरोध गरेको थियो ।

यसैबीच, मनाङको थोरङला पास गर्ने क्रममा बेपत्ता भएका भनिएका चार चिनिया पर्यटक आइतबार सम्पर्कमा आएका छन् । हराएका भनिएका पर्यटकहरु थोरङला पास गरि मुस्ताङ आइपुगेको पर्यटन प्रहरी कार्यालय पोखराका टिकाराम पौडेलले जानकारी दिनुभयो । थोरङला पासको लागि पुस २७ गते गएका उनीहरु लामो समयसम्म सम्पर्कमा नआएपछि प्रहरीले खोजी सुरु गरेको थियो । उनीहरुले हिमपात र हिउँपहिरोको कारण जोखिम मोल्दै मुस्ताङ आइपुगेको स्थानीय प्रहरीलाई जानकारी दिएका छन् ।