जनता टाइम्स

६ माघ २०७६, सोमबार १७:०५

माघ १२ गते सभामुख निर्वाचन, यस्तो छ कार्यतालिका


काठमाडौं, माघ ६

संघीय संसद् सचिवालयले माघ १२ गते सभामुखको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । माघ ७ गते बिहान ११ बजेदेखि २ बजेसम्म सभामुखका लागि उमेदवारी दर्ता गर्ने समय दिइएको छ ।

दर्ता सकिएको आधा घण्टापछि अर्थात् सोही दिन साढे २ बजे दर्ता भएका उमेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिनेछ । माघ १२ गते दिउँसो ३ बजे उमेदवारीको प्रस्तावलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा संसद बैठक सञ्चालन गर्नुभएका जेष्ठ सदस्य महन्त ठाकुरले सभामुखको हैसियतमा माघ १२ गते सभामुख निर्वाचनको मिति तोक्दै आजै सूचना प्रकाशित गर्न संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई लाई निर्देशन दिनुभएको हो । सभामुख निर्वाचन मिति घोषणासँगै माघ १२ गते ३ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।

आज बसेको पहिलो बैठकमा उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले सम्बोधनसहित राजीनामा दिने घोषणा गर्दै चार बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । निर्धारित समयमै बसेको दोस्रो बैठकले तुम्बाहाम्फेको राजीनामा पत्र पढेर सुनाई सभामुखको निर्वाचन मिति तोकिएको हो ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आज उपसभामुख पदबाट राजिनामा दिनुभएपछि प्रतिनिधिसभाको सभामुख चयनका लागि बाटो खुलेको हो । सभामुखका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी समिति सदस्य अग्नि सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । नेकपाको सोही निर्णय कार्यान्वयन गर्नका लागि उपसभामुख तुम्बाहाम्फेले आज राजीनामा दिनुभएको हो ।

नेपाली कांग्रेसले भने उपसभामुख आफ्नो पार्टीलाई दिने भए सभामुखमा उम्मेदवारी नदिने बताएको छ । तर, नेकपाले उपसभामुख राष्ट्रिय जनता पार्टीलाई दिने तयारी गरिसकेको छ । त्यसका लागि केही चरणमा वार्ताहरु भईरहेका छन् ।