जनता टाइम्स

७ माघ २०७६, मंगलवार १०:३२

दामनको होटलमा एकैपटक ८ भारतीय अचेत अवस्थामा भेटिए


मकवानपुर, माघ ७

मकवानपुरको दामन घुम्न आएका ८ भारतीय एक रिसोर्टमा अचेत अवस्थामा फेला परेका छन् । थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरोमा रिसोर्टमा रहेका उनिहरु आज विहान अचेत अवस्थामा भेटिएका हुन् ।

दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई मंगलबार बिहान बेहोस अवस्थामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ । अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान खुलेको छैन । ती पर्यटकहरु दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको हुनसक्ने घटनास्थलमा रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

अचेत अवस्थामा रहेका भारतीयहरुलाई काठमाडौं लैजान हेलिकप्टर बोलाइएको छ । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएको बुझिएको छ । उनीहरु कटेजमा बसेका थिए । टोलीमा १५ जना रहेका छन् ।