जनता टाइम्स

७ माघ २०७६, मंगलवार १३:०१

दामनको रिसोर्टमा बेहोस भेटिएका आठ जना भारतीय पर्यटकको मृत्यु, यस्तो छ मृत्युको कारण


काठमाडौं, माघ ७

दामनको एक रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका, सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय नागरिकको उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।

बिहान अचेत अवस्थामा भेटिएपछि हेलिकप्टरबाट उद्धार गरी काठमाडौं पुर्‍याइए पनि उनीहरुलाई अस्पतालले मृत घोषित गरेको छ । दुई कोठा लिएर रिसोर्टमा बसेका भारतीय पर्यटकहरु ६० वर्षका प्रविनकृष्ण नायर, ३५ वर्षका साक्ष शशि, ३४ वर्षका रञ्जितकुमार टिवी, ३४ वर्षीय इन्द्रलक्ष्मी तथा ९ वर्षकी श्री भद्र, ९ वर्षकै अविनव सोराया, ७ वर्षका अवि नायर र २ वर्षका वैष्णव रञ्जित मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरका अनुसारअचेत रहेका उनीहरुको निधन भएको जानकारी दिनुभयो । दामनमा अत्याधिक चिसो रहेको र कोठा तातो बनाउनका लागि ग्यास हिटर बालेका कारण निसासिएर उनीहरुको मृत्यु भएको आशंका प्रहरीले गरेको छ ।