जनता टाइम्स

७ माघ २०७६, मंगलवार १३:२०

उपसभामुख माग्दै कांग्रेस नेता प्रचण्ड निवासमा


काठमाडौं, माघ ७

नेपाली कांग्रेसले उपसभामुख आफ्नो पार्टीलाई दिन सत्तारुढ नेकपासँग आग्रह गरेको छ । प्रतिनिधिसभामा बहुमत रहेको नेकपासँग कांग्रेसले उपसभामुख पद माग गरेको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसविषयमा छलफल गर्नुभएको छ ।

मंगलबार विहान प्रचण्ड र पौडेलबीच खुमलटार निवासमा करिब ४० मिनेट छलफल भएको थियो । पौडेलले उपसभामुख कांग्रेसलाई दिन प्रस्ताव गरेपछि प्रचण्डले आफू सकारात्मक रहेको र पार्टीभित्र छलफल गरेर जवाफ दिने बताउनु भएको छ । कांग्रेसले प्रचण्डसँग छलफल गर्न पौडेल पठाएको थियो ।

कांग्रेसले मंगलबार सभामुख पदमा उम्मेदवार नदिने निर्णय गरेको छ । सभामुख पदमा नेकपाका उम्मेदवार अग्‍निप्रसाद सापकोटाले उम्मेदवारी दिइसक्नु भएको छ । कांग्रेसले उपसभामुख माग गरेपनि नेकपा स्रोतका अनुसार सो पद राजपालाई दिने तयारी भईरहेको छ ।