जनता टाइम्स

८ माघ २०७६, बुधबार १०:३६

हराईरहेका ७ जना हिँउमा पुरिएको आशंका


पोखरा, माघ ८

अन्नपूर्ण पदमार्गमा हराईरहेका सात जनाको खोजीकार्य जारी रहेपनि भेटाउन मुस्किल परिरहेको छ । ४ कोरियाली र तीन नेपाली गत शुक्रबारदेखी सम्पर्कमा छैनन । उनिहरु हिउँमै पुरिएको आशङ्का गरिएको छ ।

कोरियाली उद्धार टोलीले ल्याएको प्रविधिले बेपत्ता भएकाहरु हिउँमै पुरिएको सङ्केत गरेको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले बताउनु भयो ।

‘कोरियन उद्धार टोलीले ल्याएको ‘मेटल डिटेक्टर’ ले चेक गर्दा सकारात्मक रिजल्ट आएको छ’ उहाँले भन्नुभयो, ‘मेटल डिटेक्टरले मानिसले बोकेको झोला मोबाइलको ‘डिटेक्ट’ गरेको आधारमा आशङ्का गरिएको हो’ ।

यद्यपि पत्ता लागेको ठाँउहरुमा मानिसबाट छोडिएका झोला, मोबाइल अथवा अन्य कुनै धातुजन्य वस्तुमात्रै पनि हुन सक्ने भुजेलको भनाइ छ । ‘मेटल डिटेक्टर’ ले पत्ता लगाएको ठाँउमा रातो रिबन राखेर सङ्केत गरिएको छ ।

प्रविधिले पत्ता लगाएको ठाउँमा बेपत्ता भएकाहरुको खोजी गर्न हिउँ उत्खननका लागि नेपाली सेनाको तालिम प्राप्त १५ जनाको टोली हेलिकोप्टरमार्फत देउरालीमा अवतरण गरिसकेका छन् । त्यो क्षेत्रमा अत्यधिक हिउँ परेको कारण पग्लन समय लाग्ने बताइएको छ ।