जनता टाइम्स

८ माघ २०७६, बुधबार १३:५५

सरकार यात्रु र प्रविधिमैत्री सडक पूर्वाधार विकासमा केन्द्रित छ : मन्त्री नेम्वाङ


कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सरकार सुविधा सम्पन्न, यात्रुमैत्री तथा प्रविधिमैत्री सडक पूर्वाधार विकासमा केन्द्रित रहेको बताउनु भएको छ । महेन्द्रनगरस्थित सहिद भीमदत्त बसपार्कको उद्घाटन गर्दै मन्त्री नेम्वाङले यस्तो जानकारी दिनुभएको हो ।

मन्त्री नेम्वाङले यातायात क्षेत्र व्यवस्थित गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका समन्वयमा संघीय यातायात कानून निर्माण भइरहेको बताउँदै सातै प्रदेशका यातायात विकास मन्त्री, सचिव र सरोकारवालासग समेत छलफल प्रारम्भ गरिएको उल्लेख गर्नु भयो । उहाँले यातायातका कम्पनी, स्थिर पूँजी रुपान्तरण तथा भाडा समायोजनका विषयलाई समेत चाडै व्यवस्थित गरिने जानकारी दिनु भयो । सरकारले अघि सारेको लक्ष्य तथा कार्यक्रम पुरा गर्ने आफ्नो दायित्व पुरा गरिछाड्ने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँले भारतीय शहरसंग नजिकका दुरीमा भीमदत्तनगर बसपार्क रहेकाले बसपार्कको निकै महत्व रहेको उल्लेख गर्नुभयो ।

चार सय बस अट्ने क्षमता रहेको यो बसपार्क नगरर विकास कोषको ७ करोड ऋण सहयोगमा आधुनिकिकरण गरिएको हो । मन्त्री नेम्वाङले भीमदत्त पन्त नगरपालिकाको स्थापना दिवशको उद्घाटन् समेत गर्नु भएको छ । उहाँले नगरपालिकाको स्थापना दिवशलाई सम्बोधन गर्दै सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य पुरा गर्न पूर्वाधार विकास विना सम्भव नभएकाले सरकार सबैखाले पूर्वाधार विकासमा उच्च प्राथमिकताका साथ गरिरहेको बताउनु भयो ।

मन्त्री नेम्वाङले शहिद भीमदत्त पन्तले किसान आन्दोलन मार्फत जनजागरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै भीमदत्तकै नाममा नामाकरण गरिएको नगरपालिकाको स्थापना दिवशमा आफु प्रमुख अतिथिका रुपमा उपस्थित हुनु पाउँदा खुसी लागेको समेत उल्लेख गर्नु भयो । मन्त्री नेम्वाङले महाकाली नदीमा निर्माणाधिन ८१ मिटर लामो चार लेनको पुल निरिक्षण गर्नुका साथै भीमदत्त नगरपालिका १९ स्थित इकापोर्कको शिलान्यास र नगरपालिको वडा १, ३, ४, ७, ८, ९ र १० जोड्ने जैविक तथा धार्मिक सडकको अवलोकन समेत गर्नु भएको छ ।