जनता टाइम्स

८ माघ २०७६, बुधबार १४:५६

खानेपानी मन्त्री मगरद्वारा काकडभिट्टा र चारआलीमा निर्मित मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्रको उद्घाटन


काकडभिट्टा, माघ ८ । खानेपानी मन्त्री बिना मगरले झापाको काकडभिट्टा र चारआलीमा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) प्रशोधन केन्द्रको आज उद्घाटन गर्नुभएको छ । संघीय सरकार र स्थानीय सरकार (नगरपालिका) को संयुक्त लगानीमा निर्माण भएको उक्त फोहोर प्रशोधन केन्द्रको मन्त्री मगरले आज समारोहबीच उद्घाटन गर्नुभएको हो ।

खानेपानी मन्त्रालय अन्तर्गत साना सहरी खानेपानी आयोजनाले झापाको दुवै ठाउँमा पाइलट प्रोजेक्टको रूपमा मानव मलमुत्रीय फोहोरको प्रशोधन केन्द्र निर्माण गरेको हो । झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १ देखि १३ सम्मको लागि काकडभिट्टाको पूर्व दक्षिणमा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको हो । हालको ६५ हजार १९ जनसंख्या अर्थात १४ हजार ८ सय ९३ घरधुरीका लागि प्रति दिन १२ घन मिटर मानव मलमुत्रीय फोहोर प्रशोधन गर्न सक्ने बायोग्यास डाइजेस्टर र ठोस पदार्थलाई सुकाइ कम्पोस्ट बनाइ मलको रूपमा प्रयोग गर्न १६ वटा ड्राइङ बेडहरु समेत भएको प्रशोधन केन्द्रको निर्माण गरिएको साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख बिद्यानाथ भट्टराईले जानकारी दिनुभयो ।

प्रमुख भट्टराईले यस केन्द्रको लागत ६ करोड ७४ लाख रुपैयाँ रहेको बताउनुभयो । काकडभिट्टामा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) प्रशोधन केन्द्रको संचालन काकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गर्नेछ । यसैबीच खानेपानी मन्त्री मगरले जनताको मौलिक हकसंग जोडिएको खानेपानी र सरसफाइ क्षेत्रसंग सम्बन्धित आयोजनाहरुलाई कार्यान्वयन गर्न मन्त्रालय अघि बढिरहेको बताउनुभएको छ । काकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री मगरले मौलिक हकलाई कार्यान्वयन गर्न मन्त्रालयले कार्यक्रमहरु अघि बढाइरहेको बताउनुभएको हो ।

‘विशेषगरी तराई क्षेत्रमा देखिएको आर्सेनिकलगायतका समस्या समाधान गर्न बल्क प्रणालीमा खानेपानीका केही ठूला आयोजनाहरुको काम अघि बढाउदै छौं,’ मन्त्री मगरले भन्नुभयो, ‘वडा, गाउँ र निर्वाचन क्षेत्रलाई मात्रै लक्षित नगरी केही जिल्लाहरु नै समेट्ने गरी आयोजनाको डिपीआर बनाउदै छौं । ताकि तराईमा खानेपानीको समस्या समाधान होस ।’ त्यस्तै मेचीनगर नगरपालिकाका १४ र १५ वडा, बिर्तामोड नगरपालिकाका १ देखि १३ वडाहरु र बुद्ध शान्ति गाउँपालिकाका १ देखि ७ वडाहरुका १ लाख ४२ हजार ८ सय ४८ जनसंख्याका लागि लक्षित हुने गरी झापाको चारआलीमा मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) प्रशोधन गर्ने गरि प्रशोधन केन्द्रको समेत निर्माण गरिएको छ । २४ हजार ६ सय ३७ घरधुरीका लागि प्रतिदिन २७ घनमिटर दिसा जन्य लेदो प्रशोधन गर्ने गरि प्रशोधन केन्द्र बनाइएको हो ।

यी दुवै प्रशोधन केन्द्र निर्माणमा ८५ प्रतिशत लगानी संघीय सरकारको र १५ प्रतिशत नगरपालिकाहरुको लगानी रहेको छ । बिल एन्ड मेलिना गेट्स फाउन्डेसनको करिब १४ करोड आर्थिक सहयोगमा निर्माण भएको दुवै प्रशोधन केन्द्र नेपालमै पहिलो पाइलट प्रोजेक्टको रूपमा अघि बढेको छ ।