जनता टाइम्स

८ माघ २०७६, बुधबार २०:२४

अग्निकाविरुद्धमा माइतिघरमा दुःख नगर्न नेकपा अध्यक्ष प्रचण्डको आग्रह


काठमाडौं, माघ ८

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सभामुखका उम्मेदवार अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गर्नुभएको छ ।

‘हत्या’का आरोपीलाई सभामुखको उम्मेदवार बनाइएको भन्दै केही मानवअधिकारकर्मी र अधिकारवादीले माइतघर मण्डलामा धर्ना दिएकै दिन अध्यक्ष प्रचण्डले दुःख नगर्न आग्रह गर्नुभएको हो । आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा दाहालले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएकाले यसमा कसैले माइतीघरमा दुःख गर्नु नपर्ने बताउनु भयो । ‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो । अब साथीहरूले किन दुःख गरेका हुन् जाडोमा ?’, दाहालले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले सापकोटाकाविरुद्धमा कुनै मुद्दा नै नभएको समेत दाबी गर्नुभयो । ‘उहाँमाथि केही पनि छैन । बेकारको कुरा हो त्यो । पार्टीमा सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सार्‍यौं’, उहाले भन्नुभयो, ‘हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतीघर मण्डलमा साथीहरूले दुःख नगरे हुन्थ्यो ।’

समाजवादीलाई पार्टी एकता गर्न प्रस्ताव

समाजवादी पार्टीलाई नेकपामा समाहित गर्न अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका छन् । बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई मुलुकको विकास र समृद्धि तथा स्थायित्वका लागि नेकपामा आउन आग्रह गर्नुभएको हो ।

समाजवादी पार्टी छोडेर नेकपा प्रवेश गर्न आएका कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले सबै मिलेर अगाडि बढ्नुपर्ने अवस्था आएको पनि बताउनु भयो । उहाले भन्नुभयो, ‘समाजवादी पार्टीमा अशोक राई र बाबुराम भट्टराई निरीह भएर बस्नुपरेको भन्ने कुरा आयो । अप्ठेरो स्थितिमा हुनुहुन्छ भनेर रामप्रसादजीले भन्नुभयो । मैले भन्दा उपेन्द्रजी धेरै झमेला गर्नुभन्दा मिल्न आए हुन्छ । अलगअलग चुलाचौका लगाएर धेरै हुनेवाला छैन ।