जनता टाइम्स

९ माघ २०७६, बिहीबार १०:१२

सुत्केरी हुदा श्रीमान वा परिवारसँगै रहनुपर्ने


विष्णु नेपाल\काठमाडौं, माघ ९

शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ ।

स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन् । उनीको साथमा आमा, सासु, दिदीबहिनी अन्य महिला नै हुने गर्दछन् । सुत्केरी हुने अवस्थामा श्रीमान् अनिवार्य हुनुपर्ने प्रावधान विकसित देशमा रहेको बताइन्छ । कतिपय देशमा श्रीमान्को अनुमतिविना चिकित्सकले गर्भवती जाँचसमेत गर्दैनन् । श्रीमान्लाई साथमा राखेर सेवा दिन्छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले गर्भवतीले आफूले चाहेको विधिमा सुत्केरी हुन पाउने र विशेषगरी सुत्केरी हुन लागेको अवस्थामा श्रीमान् अथवा घरपरिवार अनिवार्य साथमा रहनुपर्ने अभ्यासलाई प्रयोगमा ल्याउने तयारी थाल्दै छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले ती अभ्यासलाई पहिलोपटक व्यवहारमा ल्याएको थियो । प्रसूति तथा स्त्रीरोगसम्बन्धी केन्द्रीय अस्पताल परोपकार प्रसूतिगृह थापाथलीले सो अभ्यासलाई हालसम्म व्यवहारमा ल्याउन सकेको छैन । सुत्केरी हुन लागेको अवस्थामा रहेकी महिलाका साथमा स्वास्थ्यकर्मी मात्र रहन्छन । पुरुषलाई निषेध छ । परिवारका आफन्तले सुत्केरीलाई मुस्किलले भेट्न पाउँछन् ।

प्रतिष्ठानका नर्सिङ डीन सरस्वती गौतमले प्राकृतिकरूपमा सहज सुत्केरी गराउन जुम्ला अस्पतालले छुट्टै बर्थिङ सेन्टर ९सुत्केरी केन्द्र० स्थापना गर्न लागेको जानकारी दिनुभयो । ‘चिकित्सकले जटिल भनेर सिफारिश गरेका बाहेक’ अन्य गर्भवतीलाई प्राकृतिकरूपमा सुत्केरी गराउन मिडवाइफले सेवा दिने उहाँले जानकारी दिनुभयो । अस्पतालमा पछिल्लो समय शल्यक्रियामार्फत सुत्केरी गराउन निरुत्साहित हुँदै आएको छ ।

“नर्मल विधिबाट डेलिभरी हुन पाउनु महिलाको अधिकार हो, शल्यक्रिया त जटिल अवस्थामा दोस्रो विकल्प हो । पहिलो विकल्प हुँदाहुँदै दोस्रोको प्रयोगलाई न्यूनीकरण गर्ने हाम्रो ध्येय हो”, उहाँले भन्नुभयो, “सुत्केरी हुने अवस्थामा श्रीमान् अथवा घरपरिवार नजिक हुँदा आत्मबल उच्च हुन्छ । शिशु निकाल्न शक्ति उत्पन्न हुन्छ । यसैले सुत्केरी हुँदा नजिक परिवारको अनिवार्य खोजी गरिएको हो ।”

सुत्केरी गराउन, आमा र नवजात शिशुको स्याहार तथा परिवार नियोजनका सेवा प्रदान गर्न मिडवाइफलाई उत्कृष्ट मानिन्छ । पछिल्लो समय प्राकृतिकभन्दा शल्यक्रियामार्फत सुत्केरी गराउने सङ्ख्यामा वृद्धि भइराखेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नवजात शिशु, शिशु, पाँच वर्षमुनिका बालमृत्युदर तथा मातृमृत्युदर घटाउन मिडवाइफ जनशक्ति उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ ।

हाल चिकित्सा विज्ञान प्रतिष्ठान ९न्याम्स०बाट पहिलो समूहमा नौ मिडवाइफ जनशक्ति उत्पादन भएका छन् । काठमाडौँ विश्वविद्यालयले सो विषयमा अध्यापन शुरुआत गराएको छ । यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपीए०ले ती दुई निकायलाई प्राविधिक सहयोग गरेको जनाइएको छ । अगामी वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ती विषयमा अध्यापन गराउने तयारी गर्दैछन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्ला अस्पताल, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने मिडवाइफ जनशक्ति उत्पादन गर्न गत वर्षदेखि मिडवाइफमा तीनवर्षे स्नातक कार्यक्रम सञ्चालन ल्याएको थियो । हाल गत वर्षका छ र यस वर्षका १० जनाले सो विषय अध्ययन गरिराखेका छन् । “ज्ञान, सीप र व्यवहार तीनै पक्षबाट विद्यार्थीलाई उत्कृष्ट बनाउन प्रतिष्ठानले उच्च ध्यान दिएको छ । हाम्रा जनशक्ति विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने हुन्छन् । पाठ्यक्रम स्थानीय होइन, अन्तरराष्ट्रियस्तरको हो”, प्रतिष्ठानकी नर्सिङ डीन भट्टराईले भन्नुभयो ।

सो विषयमा स्नातक तह अध्ययन गरिराखेका विद्यार्थीको ज्ञान, सीप र व्यवहार मापन गर्न प्रतिष्ठानले ‘दक्षता मापन विधि’ को मस्यौदा तयार पारेको छ । बुधबार सम्पन्न तीनदिने विशेषज्ञ बैठकले नेपाल नर्सिङ काउन्सिलले कार्यान्वयनमा ल्याएको मिडवाइफ पाठ्यक्रम निर्देशिका र मिडवाइफको अन्तरराष्ट्रिय महासङ्घले निर्धारण गरेका ३१८ बुँदाका आधारमा विधि तयार पारेको प्रतिष्ठानका नर्सिङ प्रमुख निर्मलाकुमारी पहाडीले जानकारी दिनुभयो । अब सैद्धान्तिक ज्ञानबाट प्राप्त अङ्क र मापन विधिका आधारमा विद्यार्थीको मूल्याङ्कन हुने छ ।