जनता टाइम्स

९ माघ २०७६, बिहीबार १०:१८

कोरोना भाइसरको प्रकोपपछि विमानस्थलमा निगरानी बढाइयो


काठमाडौं, माघ ९

चीनमा कोरोना भाइसरको प्रकोप फैलिएपछि त्यसको असर नेपालमा नपरोस् भनेर सतर्कता बढाइएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विशेषगरी चिनबाट आउने यात्रुको निगरानी र जाँच बढाइएको हो । श्वासप्रश्वासबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कोरोनाको जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको र रुघाखोकीलगायत श्वासप्रश्वासको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको महाशाखाले जानकारी दिएको छ ।
विमानस्थल कार्यालयले पनि चीनको वुहान शहरबाट आउने यात्रुको निगरानी गर्न थालेको छ । विमानमा रुघाखोकी लागेका बिरामी भए वा नभएको बारे जानकारी लिने र त्यस्ता बिरामी पाइए उनीहरुको स्वास्थ्य परीक्षण गर्न पठाउने गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो ।

वुहान शहरबाट आएका एक नेपालीमा यो भाइरसको सङ्क्रमण देखिएपछि ती व्यक्तिको नमुना परीक्षणका लागि हङकङ पठाइएको छ । ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भए पनि निगरानीमै रहेको महाशाखाले जनाएको छ ।

अहिलेसम्म यो भाइरसको सङ्क्रमण चीनबाहेक अमेरिका दक्षिण कोरिया जापान र थाइल्याण्डमा पनि देखिएको छ । यो भाइरसका कारण अहिलेसम्म कम्तीमा १७ जनाको ज्यान गइसकेको छ भने चीनमा पाँच सयभन्दा बढी मानिस यसबाट सङ्क्रमित भएका छन् । यसको प्रकोप बढ्दै गएपछि चीनको वुहान शहरमा अधिकारीहरुले स्थानीय मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएका छन् ।