जनता टाइम्स

११ माघ २०७६, शनिबार २०:११

राजपासँगको सहकार्यलाई समृद्ध नेपालको अभियानमा जोड्ने उपप्रधानमन्त्री पोखरेल घोषणा


महोत्तरी, माघ ११

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको सहकार्य राम्रो शुरुआत भएको बताउनुभएको छ ।

बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश–२ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिलाई आज बधाइ ज्ञापन गर्दै उहाँले राजपासँगको सहकार्यले निर्वाचनमा राम्रो परिणाम आएको उल्लेख गर्नुभयो । “राष्ट्रियसभा निर्वाचनमा दुवै दलको आवश्यकताले हामीबीच सहकार्य भयो”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “अब मुलुकको समृद्धि अभियान अघि बढाउन यो सहकार्य अझ विश्वासिलो र सुदृढ बन्नु पर्दछ ।”

कार्यक्रममा नेकपाका प्रदेश–२ का इञ्चार्ज एवम् प्रदेशसभा २ मा विपक्षी दलका नेता सत्यनारायण मण्डल, पार्टीका प्रदेश २ का सहइञ्चार्ज विश्वनाथ साहसहितका नेताहरुले नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाइ बधाइ ज्ञापन गर्नुभएको थियो । नेकपाबाट राष्ट्रियसभामा निर्वाचित तुलसा दाहाल र राधेश्याम पासवानले जनअधिकार र जनचासोका विषयमा केन्द्रित रहने प्रतिबद्धता जनाउनुभयो ।