जनता टाइम्स

१२ माघ २०७६, आईतवार १०:४१

सभामुख चयन अगावै सापकोटाविरुद्धको रिटमा सुनुवाई


काठमाडौं, माघ १२

नेकपाका नेता अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउन नहुने माग राख्दै परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आज प्रारम्भिक सुनुवाई गर्दैछ । न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको निवेदनको पेशी तोकिएको हो ।

हत्याको आरोप लागेका नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई प्रतिनिधीसभाको सभामुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउनबाट रोक्न आदेश जारी हुनुपर्ने माग राख्दै निवेदन दर्ता गराएका हुन् ।

गम्भिर अपराधको उजुरीमा अनुसन्धानमा परेका व्यक्तिलाई सभामुख बनाउन नहुने भन्दै त्रिपाठीले निवेदन दिएका हुन् । उनले सापकोटा विरुद्धको उजुरी गम्भिर प्रकृतिको भएको भन्दै अनुसन्धानका लागि विशेष कार्यदल गठनको माग समेत गरेका छन् । रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रतिनिधी सभा सचिवालय, अग्नि सापकोटा, प्रतिनिधीसभाका जेष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । नयाँ सभामुख चयन गर्नका लागि आजै ३ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सभामुखमा नेकपाका तर्फबाट सापकोटाको मात्रै उम्मेदवारी परेकाले अदालतबाट कुनै व्यवधान नपरे उनी सभामुख हुने तय भइसकेको छ ।