काठमाडौं, माघ १२
सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ सरेको छ । न्यायाधीश हरि फुयालको इजलासमा परेको सो मुद्दा उहाले हेर्न नमिल्ने भएपछि सापकोटा सभामुख बन्ने बाटो खुलेको छ ।
सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उहाले मुद्दा हेर्न नमिल्ने भएको हो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवारका रुपमा आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकबाट सभामुख चयन हुने प्रक्रियामा रहेका सापकोटालाई सभामुख चयन नगर्ने गरी आदेश जारी गर्न माग गर्दै शुक्रबार दायर भएको रिटको सुनुवाईका लागि आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालको (६ नम्बर) इजलाशमा पेशी तोकिएको थियो ।
स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराउनु भएको छ । फुँयालको इजलासमा सुनुवाइ नहुने निश्चित भएपछि सभामुखमा सापकोटा आजै निर्वाचित हुनुहुनेछ । आज निर्वाचित भएपछि सम्भवत आजै नभएपनि भोली विहान सपथ ग्रहण समारोह हुन सक्ने स्रोतले बताएको छ ।
सर्वोच्च स्रोतका अनुसार, न्यायाधीश हरिकृष्ण कार्की र हरि फुँयाल दुवैले सापकोटाविरुद्धको मुद्दा हेर्न मिल्दैन । दुवै न्यायाधीशले सर्वोच्चमा आउनुअघि सुशील प्याकुरेलले सापकोटाविरुद्ध दायर गरेको मुद्दामा बहस गर्नुभएको थियो । सर्वोच्च अदालत स्रोतका अनुसार उक्त रिटमाथिको सुनुवाईका लागि सोमबार अर्को पेशी तोकिने छ ।
प्रतिक्रिया दिनुहोस्