जनता टाइम्स

१२ माघ २०७६, आईतवार २०:०८

लुटेको ५० लाखले बाइक किन्नेदेखी सहकारीको ऋण समेत तिरे


काठमाडौं, माघ १२

विभिन्न किसिममा अलौकिक वस्तुहरु आफूसँग रहेको बताउँदै त्यसलाई देखाउने र बेच्ने बहानामा खरिदकर्तासँग ५० लाख लुट्ने गिरोहका ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी सार्वजनिक गरेको छ ।

महाशाखाका एसपी मुकेशकुमार सिंहका अनुसार उनीहरुले आफ्नो साथमा बल्ने ढुंगा, वनझाँक्रीको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख लगायतका वस्तुहरु आफूसँग छ भनि खरिदकर्तालाई एकान्तमा लगेर लुट्ने गरेको अनुसन्धानमा खुल्न आएको छ । सो समूहले काठमाडौं भगवान पाउ बस्ने ६३ वर्षका बच्चुराम गुरुङलाई आफूसँग बल्ने ढुंगा रहेको भनेर काभ्रेस्थली लगेर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेर फरार भएका थिए ।

सोही लुटपाटको अनुसन्धानको क्रममा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भीमबहादुर घर्तीमगर, नकुर तामाङ, दावा छिरिङ तामाङ, कुमारबहादुर बुढाथोकी, तेन्जिङबहादुर तामाङ र संजित वाईवा रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले कुल १८ लाख ७५ हजार नगद तथा लुटपाटका रकमबाट खरिद गरिएको मोटरसाइकल लगायतका सामान पनि बरामद गरेको छ । प्रहरीका अनुसार शुक्रबार साँझ नै पक्राउ परेका रसुवाका तेन्जिङ र सञ्जीवबाहेक अन्य चार जनाले शुक्रबारको राति लुटेको पैसाले मस्ती गरेका छन् ।

लुुटेरा समूहका मुख्य योजनाकार भीमबहादुर घर्ती मगरले लुटेको रकममध्ये ३ लाख ३० हजारमा बजाजको २ सय २० सीसीको मोटरसाइकल किने । अनि सोही मोटरसाइकलमा आफ्नो केटी साथीलाई लिएर नगरकोट पुगेर मस्ती गरेको खुलेको प्रहरीको भनाइ छ । त्यस्तै, दावा छिरिङले आफूले लिएको ऋण तिरे भने कुमार बुढाथोकी र नकुर तामाङले घरभाडा तिर्नेदेखि फाइनान्सको किस्ता तिर्ने काम गरेको र काठमाडौंको महँगो होटलमा बसेर मस्ती गरेको खुलेको छ ।