काठमाडौं, १ जेठ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भक्तपुरको नगरकोटस्थित तेलकोटमा तेलकोटदेखि भट्टेडाँडासम्मको साढे सात किमी हरिगुरु मार्ग सडक शिलान्यास गर्नुभएको छ । चाँगुनारायण नगरपालिकाले मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले गतवर्ष मस्तिष्काघातबाट निधन हुनुभएका प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको मंगलबार भएको वार्षिक पुण्यतिथिका अवसरमा उहाँकै नाममा सडक नामाकरण गरी शिलन्यास गर्नुभएको हो ।
केन्द्र सरकारको रु दुई करोड ८५ लाख र चाँगुनारायण नगरपालिकाको रु पाँच करोड ६१ लाख गरी कूल रु आठ करोड ४७ लाखलागतमा निर्माण हुन लागेको उक्त सडक निर्माणको उहाँले शिलान्यास गर्नुभएको हो । कार्यक्रममा रक्षामन्त्री पोखरेलले सार्वजनिक खरीद ऐनका केही प्रावधान विकासको बाधकको आधार भएकाले उक्त ऐन संशोधन गरिने बताउनुभयो । उहाँले केही ठूला निर्माण व्यवसायीले निर्माण कार्यको ठेक्का सम्झौता गरी २० प्रतिशत ‘मोभिलाइजेशन’ लिने तर राजनीतिक पहुँचका आधारमा काम नगर्ने परिपाटीको विकास भएकाले त्यस्तो प्रणालीको अन्त्य गर्न ऐन नै संशोधन गर्ने तयारी भइरहेको बताउनुभयो । रक्षामन्त्री पोखरेलले विकासको काम कुनै पार्टी विशेषको नहुने भएकाले सबै पार्टी मिलेर विकास र समृद्धिको अभियानमा एकजुट हुन आग्रह गर्नुभयो । उहाँले नगरकोटलगायतका ठूला निर्माण कार्यमा ढिलासुस्ती गर्ने, आलटाल गर्ने, लापरवाही गर्ने र गुणस्तरहीन निर्माण कार्य गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो । सरकारले मुलुकको विकास र समृद्धिको आधार निर्माण गरिसकेकाले आर्थिक वर्ष २०७६÷७७ विकासको वर्ष हुने चर्चा गर्दै उहाँले मुलुक सङ्घीयतामा गइसकेकाले प्रदेश र स्थानीय सरकारलाई आफ्नो अधिकारको पूरा उपयोग गर्नसमेत दुवै तहका सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गरीबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराई, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बाँस्तोला, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सेनालगायतले अब भाषणबाट मात्र विकास नहुने भएकाले सबै जनप्रतिनिधिहरुले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सकेमात्र समृद्धि सम्भव भएको बताउनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले हरिगुरु मार्ग नामाकरण गरिएको उक्त सडक छ महीनाभित्र निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्