जनता टाइम्स

१३ माघ २०७६, सोमबार १५:४९

५३ मेलमिलापकर्ताको शपथ


काठमाडौं, माघ १३

वैदेशिक रोजगारसम्बन्धी उजुरीलाई छिटो फरफारक गर्न सहयोग पु¥याउने उद्देश्यले वैदेशिक रोजगार विभागमा सूचीकृत ५३ मेलमिलापकर्तालाई शपथ खुवाइएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री, नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलगायतको उपस्थितिमा आज विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले सूचीकृत मेलमिलापकर्तालाई शपथ खुवाउनुभएको हो ।

विभागले गत पुस १५ गते एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारीसम्बन्धी उजुरीमा मेलमिलापकर्ताका रूपमा काम गर्न चाहने तालीमप्राप्त व्यक्तिलाई सूचीकृत हुन आह्वान गरेको थियो । मेलमिलापकर्ताका रूपमा काम गर्न इच्छुक रहेको भन्दै ५३ जना सूचीकृत भएका थिए । मेलमिलापसम्बन्धी ऐन, २०६८ तथा नियमावली, २०७० ले यससम्बन्धी व्यवस्था गरेको छ ।

यससँगै विभागले वैदेशिक रोजगारीसम्बन्धी उजुरी फरफारकमा तेस्रो निष्पक्ष व्यक्तिको सहयोग लिने बाटो खुलेको छ ।कार्यक्रममा मेलमिलाप परिषद्का अध्यक्षसमेत रहनुभएका सर्वोच्च अदालतका न्यायाधीश खतिवडाले मेलमिलापकर्ताले दिने न्याय पीडित र पीडक दुवैलाई न्याय हुने खालको हुनुपर्नेमा जोड दिनुभयो । नायब महान्यायाधिवक्ता पाण्डेले मेलमिलाप प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा महानिर्देशक भुसालले पुराना मुद्दा फछ्र्योट गर्न विभागको ध्यान केन्द्रित भएको उल्लेख गर्दै मेलमिलापकर्ताको संलग्नतापछि मुद्दा फछ्र्योटको दर बढ्ने विश्वास व्यक्त गर्नुभयो । यसैबीच आजदेखि विभागमा मेलमिलाप कक्षको स्थापना गरिएको छ । सो कक्षको सर्वोच्चका न्यायाधीश खतिवडाले उद्घाटन गर्नुभएको थियो ।