जनता टाइम्स

१३ माघ २०७६, सोमबार १९:५२

कांग्रेस कार्यालयमा नेताकै भागभाग, यस्तो छ कारण


काठमाडौँ, माघ १३

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबार अपरान्ह पुन झडप भएको छ । नेपाल विद्यार्थी संघको नेतृत्वका विषयलाई लिएर दिउसो भएको झडप मत्थर हुन नपाउदै साँझ पुन झडप भएको हो ।

केन्द्रीय समिति बैठकमा भाग लिन पार्टी कार्यालय पुगेका कांग्रेसका केन्द्रीय सदस्यहरुकै भागाभाग भएको छ । केन्द्रीय समिति बैठकलाई दबाब दिन भेला भएका संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थीबीच झडप हुँदा नेताहरुबीच नै भागदौड मच्चिएको हो ।

दिउँसो भएको झडप केही साम्य भए पनि बेलुका चौथो तलमा केन्द्रीय समितिको बैठक सुरु भएसँगै विद्यार्थीबीच ढुंगा हानाहान सुरु भएको थियो । दिउँसो १ बजे बोलाइएको बैठक बेलुका ५ बजे मात्र सुरु भएको थियो ।

बैठकले महाधिवेशनको पुरानै मितिलाई सर्वसम्मतले अनुमोदन गरेको छ । केन्द्रीय महाधिवेशन यसअघि तोकिएको मिति २०७७ फागुन ७ गतेदेखि १० गतेसम्म नै हुनेगरी तल्ला तहका अधिवेशन केही अगाडी सारिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । शर्माका अनुसार अब १४ औं महाधिवेशन अन्तर्गतका अधिवेशनहरु २०७७ कात्तिक १६ गतेबाट सुरु हुनेछन् ।

कात्तिक १६ गते वडा अधिवेशन गर्ने मिति तय भएको शर्माले बताउनु भयो । यसअछि पुस ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट सभापति शेरबहादुर देउवाले बहुमतले मंसिर ९ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । त्यो बैठकमा संस्थापन इतर समूह सहभागी भएको थिएन ।

सोमबारको बैठकमा भने संस्थापन इतर समूह पनि सहभागी थियो । प्रवक्ता शर्माका अनुसार सहमतिमा अव गाउँ–नगर अधिवेशन ०७७ कात्तिक १८ गते हुनेछ । प्रदेशसभा अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय पनि सर्वसम्मतिले बैठकले गरेको छ । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन पनि त्यसैदिन हुनेछ ।

त्यस्तै एकभन्दा बढि प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन कात्तिक २५ गते र प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने निर्णय बैठकले सर्वसम्मतिले गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । सहमतिमा यो निर्णय भएसँगै कांग्रेसमा देखिएको मंसिर २६ गतेदेखिको गतिरोध तत्कालका लागि अन्त्य भएको छ ।