जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार ११:१६

प्रधानमन्त्रीद्धारा विन–विन मेमोरियलको भ्रमण


काठमाडौं ।

कम्बोडियाको भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि विभिन्न कार्यक्रममा सहभागी हुनु भएको छ । भ्रमणको अन्तिम दिन उहाले आज विहान राजधानी नोम पेन्हस्थित विन विन मेमोरियलको भ्रमण गर्नुभएको छ ।

चोरी चान्भर जिल्लामा रहेको सो स्मारक सन् १९९८ डिसेम्बर २९ मा कम्बोडियाको गृहयुद्ध समाप्त भएको बारे सम्बन्धित छ । सो क्षेत्रमै मारोडोक डेको नेशनल स्पोर्टस कम्प्लेक्स रहेको छ जहाँ सन् २०२३ मा दक्षिणपूर्वी एशियाली खेलकूद हुने र चाँडै नोम पेन्ह सेटलाइट टाउन बन्ने कम्बोडियाका अधिकारीले बताएका छन् ।

सो स्मारकले आउँदो पुस्तालाई एउटा राम्रो शिक्षा दिएको छ जसले कम्बोडियाको राष्ट्रिय मेलमिलाप, स्वतन्त्रता, एकता, सार्वभौमिकता, विकास र समृद्धिलाई प्रतिनिधित्व गर्छ । उक्त स्मारक एक करोड २० लाख डलरमा निर्माण भएको हो जुन सम्पूर्ण कम्बोडियालीको संयुक्त उपलब्धि मानिन्छ ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवका साथै नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि उपस्थिति थियो । तीन दिने भ्रमणका क्रममा उहाले आफ्ना समकक्षी सामदेक हुन सेन, कार्यवहाक राष्टप्रमुखसँग पनि भेटवार्ता गर्नुभएको थियो । उहा आजै साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।