जनता टाइम्स

१९ माघ २०७६, आईतवार १२:२६

एमसीसी र इन्डो प्यासेफिक सम्बन्धबारे अमेरिकी उच्च अधिकारीले दिए यस्तो प्रष्टिकरण (भिडियोसहित)


न्यूयोर्क, माघ १९ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र इन्डो प्यासेफिक भिजनबीच प्रचारमा ल्याइए जस्तो कुनै सम्बन्ध नभएको अमेरिकी विदेश मन्त्रालयका एक उच्च अधिकारीले बताउनु भएको छ ।

अमेरिकी विदेश मन्त्रालयको साउथ एण्ड सेन्ट्रल अफेयर्सका लागि पब्लिक डिप्लोमेसी ब्यूरोका डेपुटी एसिस्टेन्ट सेक्रेटरी जोनादन हेनिकले एमसीसी र इन्डो प्यासेफिकबीच कुनै सम्बन्ध नरहेको प्रष्ट पार्नुभएको हो । उहाँले एमसीसी र इन्डो प्यासेफिकलाई भ्रमित पार्न केही कन्फ्युजनहरु श्रृजना भएको धारणासमेत राख्नुभयो ।

वासिंटन डिसीमा इन्डो प्यासेफिकबारे स्पष्ट पार्न आयोजित कार्यक्रममा खसोखासका प्रधानसम्पादकसमेत रहनुभएका पत्रकार किशोर पन्थीको प्रश्नको जवाफ दिदै उहाँले भन्नुभयो, ‘मिलेनियम च्यालेन्ज कर्पोरेशनले सन २०१२ देखि नेपालमा काम गर्दैछ । हामीले प्रस्तुत गरेको इन्डो प्यासेफिक भिजन सन २०१७ मा मात्र कल्पना गरिएको थियो र घोषणा गरिएको थियो । म यो कुरा पनि दोहोर्याउन चाहन्छु किनभने मलाई लाग्छ, केही कन्फयुजनहरु सृजना भएका छन, जसले यी दुई विशेष मुद्दाहरूलाई भ्रमित गर्दैछ ।’

उहाँले एमसीसी कम्प्याक्टमा भाग लिनको लागि नेपालले इन्डो प्यासेफिकका कुनै कुराको लागि सामेल हुन वा साइन अप गर्न आवश्यक नरहेको पनि प्रष्ट पार्नुभयो । ‘हामीले नेपाल सरकारसँग धेरै बर्षदेखि कुराकानी गर्दै आएको ५ सय मिलियन डलरको एमसीसी कम्प्याक्टमा भाग लिनको लागि नेपालले इन्डो प्यासेफिकका कुनै कुराको लागि सामेल हुन वा साइन अप गर्न आवश्यक छैन । त्यसैले एमसीसी र इन्डो प्यासेफिकबीच त्यस्तो प्रकारको सम्बन्ध छैन, जुन तपाईले संकेत गरिरहनु भएको छ,’ डेपुटी एसिस्टेन्ट सेक्रेटरी हेनिक भन्नुभयो ।

इन्डो प्यासेफिक भिजन इन्डो प्यासेफिक क्षेत्रका लागि समावेशी दर्शन भएको जानकारी पनि उहाँदले दिनुभयो । ‘हामी विश्वास गर्दछौं कि क्षेत्रका लागि हाम्रो दृष्टिकोणलाई आधार बनाउने खुलापन, पारदर्शिता, सुशासनका मूल्य मान्यताका सन्दर्भमा हामी नेपालसहित यस क्षेत्रका धेरै, धेरै साझेदारहरूसँग साझा गर्दछौं । हामीलाई आवश्यक छैन कि प्रत्येक एकल देशले हामीले वर्णन गरेको दर्शनको प्रत्येक एकल तत्वमा ठीक उस्तै मान वा प्राथमिकता संलग्न हुनुहोस,’ उहाँको भनाई थियो । उहाँले पारदर्शिता, सुशासन, समृद्धिलाई अझ बढाउने आशाका साथ सहयोग गर्न चाहेको पनि प्रष्ट पार्नुभयो ।

‘हामी यी मुल्यहरूको प्रवर्धन, पारदर्शिता, सुशासन, समृद्धिलाई अझ बढाउने आशाका साथ सहयोग गर्न चाहन्छौं । र निश्चय नै हामी नेपाललाई एउटा महत्वपूर्ण साझेदारका रूपमा देख्छौं जुन हामी यी धेरै मूल्य मान्यताहरूलाई साझा गर्छौं । इन्डो प्यासेफिक भिजनलाई यस क्षेत्रमा अगाडि बढाउनका लागि नेपालसँग मिलेर धेरै सम्भावित काम गर्न सक्छौं जस्तो हामीलाई लाग्छ,’ डेपुटी एसिस्टेन्ट सेक्रेटरी हेनिकले भन्नुभयो ।