जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार ११:४८

उदयपुर सिमेन्ट उद्योगको जग्गा अतिक्रमणपछि प्रहरीको हस्तक्षेप, चार बिघा जग्गा फिर्ता


काठमाण्डौं,जेठ १

उदयपुर सिमेन्ट उद्योगको अतिक्रमित जग्गा प्रहरीले हस्तक्षेप गरी फिर्ता गराएको छ ।

उद्योगको स्वामित्वमा रहेको जग्गा र सगरमाथा लोकमार्गअन्तर्गत आसपासका जग्गामा टहरा तथा घर निर्माणकार्य सुरू गरेपछि मंगलबार प्रहरीले हस्तक्षेप गरेर जग्गा फिर्ता ल्याएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले सरकारी स्वमित्वको जग्गामा धमाधम टहरा निर्माण गर्ने थालेपछि प्रहरीले हस्तक्षेपको जिल्ला प्रशासन कार्यलय उदयपुरले जनाएको छ ।

उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार उद्योगको स्वामित्वमा रहेको गाईघाट–कद्माहा–सगरमाथा सडकमार्गको जलजले सडक आसपासका चार बिघा जग्गा केही अतिक्रमणकारीले अतिक्रमण गर्दै रातिको समयमा भौतिक संरचना निर्माण सुरू गरेका थिए। त्यसपछि उद्योग प्रशासनले प्रहरी प्रशासन गुहारेको थियो।

उद्योग आसपास जलजलेस्थित गाईघाट–कद्माहा–सगरमाथा सडकखण्डको दायाँबायाँ क्षेत्रमा सिमेन्ट उद्योगको बीसौं बिघा जग्गा छ। उक्त जग्गामा अतिक्रमणकारीले पटक–पटक अतिक्रमण गर्ने प्रयास गर्दै आए पनि प्रहरी प्रशासनले हस्तक्षेप गरेर सुरक्षा गर्ने गरेका कारण कब्जा गर्न सफल भने हुन नसकेको सिमेन्ट उद्योग प्रशासनले जनाएको छ।