जनता टाइम्स

२० माघ २०७६, सोमबार १४:४८

प्रधानमन्त्री कुशल र अनुभवी पाइलट हो, उहाँले हाँकेको जहाजले सही अवतरण गर्नेछ : पर्यटनमन्त्री भट्टराई


तनहुँ, माघ २० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकार सही बाटोमा रहेको प्रष्ट पार्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले सरकार गलत बाटोमा नरहेको तथ्य राख्नुभयो ।

मन्त्री भट्टराईले सरकारको बाटो, दिशा र गन्तव्य सही रहेको तथ्य राख्दै भन्नुभयो, ‘सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारा बाटो आउँछ, अवरोध आइपर्छ, त्यस्ता अवरोध हटाउँदै सरकार अगाडि बढिरहेको छ ।’ मन्त्री भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुशल र अनुभवी पाइलटको संज्ञा दिँदै उहाँको नेतृत्वको वर्तमान सरकारको जहाजले सही अवतरण गर्ने पनि बताउनुभयो । ‘हाम्रो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुशल र अनुभवी पाइलटको हो, उहाँको नेतृत्वको वर्तमान सरकारको जहाजले सही अवतरण गर्नेछ,’ मन्त्री भट्टराईले भन्नुभयो ।

मन्त्री भट्टराईले नेकपाको आकाश सफा र धर्ती उर्वर रहेको बताउनुभयो । पार्टी एकीकरणलाई भावनात्मक बनाउन हालै सम्पन्न केन्द्रीय कमिटी बैठक सफल भएको भन्दै उहाँले बैठकले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउन सफल भएको चर्चा गर्नुभयो । ‘बैठक अगाडि नेकपाको आकाशमा केही बादलहरु थिए, हावाहुरी पनि चलेको थियो, बैठकले ती बादलहरु सफा गरिदिएको छ, नेकपाभित्र अब हावाहुरी चल्नेवाला छैन, नेकपाको आकाश सफा छ, धर्ती उर्वर छ,’ मन्त्री भट्टराईले भन्नुभयो ।

सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारा बाटो आउँछ, अवरोध आइपर्छ, त्यस्ता अवरोध हटाउँदै सरकार अगाडि बढिरहेको छ

केन्द्रीय कमिटी बैठकले तीनमहिने अभियान घोषणा गरेको जानकारी गराउँदै उहाँले उक्त अभियानमा सबै नेताहरु गाउँ फर्कने र कार्यकर्ताको समस्या सुन्ने बताउनुभयो । सो अभियानमार्फत पार्टी्भित्रका समस्या समाधान गरिने मन्त्री भट्टराईले बताउनुभयो । विसं २०७७ को चैत महिनामा पार्टीको महाधिवेशन घोषणा गरिएको र त्यसले पार्टीलाई थप मजबुद बनाउने उहाँको भनाइ थियो । मन्त्री भट्टराईले पार्टीको महाधिवेशनलगत्तै तीन तहको निर्वाचन हुने भएकाले तीनवटै तहको चुनावमा अहिलेको भन्दा पनि राम्रो परिणाम निकाल्न सबै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिदैं बहुमत प्राप्त सरकार भएकाले जनताको अपेक्षा धेरै रहेको र त्यसलाई पूरा गर्न सरकार लागिपरेको बताउनुभयो ।