जनता टाइम्स

२१ माघ २०७६, मंगलवार १२:५१

कांग्रेस सांसद डिसीबिरुद्ध उजुरी दर्ता, यस्तो छ कारण


काठमाडौं, माघ २१ । नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले आफ्नै निर्वाचन क्षेत्रका मतदातालाई ठगी गरेको तथ्य बाहिर आएको छ । सांसद डिसीबाट ठगिएका पीडितले संसद सचिवालयमै उजुरी दर्ता गरेपछि उहाँको पोल खुलेको हो । पीडित लीलाबहादुर थापा र कृष्णराज पाण्डेले ८ लाख रुपैयाँ ठगेको भन्दै सांसद डिसीबिरुद्ध संसद सचिवालयमा उजुरी दिएका हुन ।

सांसद चौधरीले २०७४ सालमा तीन लाख र पाँच लाख रुपैयाँ गरी कूल आठ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फिर्ता नगरेपछि उजुरी दिनु परेको पीडित थापा र पाण्डेले उजुरीमा उल्लेख गर्नुभएको छ । गढवा गाउँपालिका, दाङका उपसभापतिसमेत रहनुभएका कांग्रेस कार्यकर्ता पाण्डेले एभरेष्ट बैंकमा रहेको सांसद चौधरीको खातामा २०७४ साल असोज २६ गते तीन लाख रुपैयाँ जम्मा गरेको तथा कांग्रेस क्रियाशील सदस्य लीलाबहादुरले २०७४ साल असोज १७ गते सांसद चौधरीकी छोरीको लक्ष्मी बैंकमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरेको उजुरीमा उल्लेख छ ।

यसरी रकम जम्मा गरेको दुई वर्ष बित्न लाग्दासमेत फिर्ता नगरेपछि बाध्य भएर सचिवालयमा उजुरी दिनुपरेको पाण्डे र थापाले बताउनु भयो । उक्त पैसा फिर्ता लिनका लागि पार्टीमा कुरा राखेको र त्यहाँबाट सम्बोधन हुन नसकेपछि संसद् सचिवालयमा उजुरी हाल्न बाध्य भएको उहाँहरुको भनाई छ । ‘यहाँबाट सम्बोधन भएन भने अदालतसम्म जानेछौं,’ पीडित दुवैको भनाई छ ।यता सांसद चौधरीमाथि लागेको ठगी आरोपबारे छानिबन गर्ने जिम्मा आफ्नो नभएको संसद् सचिवालयले बताएको छ ।

उजुरीबारे सांसद डिसीले टोपबहादुर डिसीसँगको कारोबार भएपनि बैंक खातामा जम्मा गरिदिने माध्यममात्र भएको बताउनु भएको छ । ‘मेरो कारोबार टोपबहादुर डिसीसँग हो । तर पैसा खातामा हाल्दा उनीहरुको नामबाट हालियो,’ सांसद डिसीले भन्नुभयो, ‘उनीहरुले अहिलेसम्म प्रत्यक्ष भेटघाट गरेका छैनन, एक्कासी उजुरी परेपछि आश्चर्य लाग्यो ।’

डिसीले आफ्नो राजनीतिक करियर सिध्याउनको लागि यस्तो प्रपञ्च रचेको जिकिरसमेत गर्नुभयो । ‘दुई वर्ष अगाडिको कारोबारका बारेमा बैंक खातामा जम्मा गर्ने माध्यम भएकै निहुँमा बार्गेनिङ गर्न खोजेका हुन,’ सांसद डिसीले उल्टै आरोप लगाउनु भयो । उहाँले उजुरीकर्ता दुवै जना आफ्नै निर्वाचन क्षेत्रका कांग्रेस कार्यकर्ता रहेको जानकारी पनि दिनुभयो ।