जनता टाइम्स

२१ माघ २०७६, मंगलवार १३:५९

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो


हङकङ, माघ २१

विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नुभएको छ । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३ औं व्यक्ति थिए ।

उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै मङ्गलबार बिहान मृत्यु भएको हो । हङकङको व्याम्पो गार्डेनमा बसोवास गर्दै आएका ती व्यक्ति गत जनवरी २१ मा हङकङबाट उहान र जनवरी २३ मा हङकङ फर्किएका थिए । मङ्गलबारसम्म चीनमा यस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२५ पुगिसकेको समाचार संस्था एएफपीले जनाएको छ ।

यस भाररसबाट सङ्क्रमण भएका २ हजार १४३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भाइरस सङ्क्रमण ३९६ जनालाई अस्पतालबाट घर फर्काइएको छ । हुबेइ प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भएको थियो ।

उहाँले चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको बताउनुभएको छ । यता चीनको केन्द्र सरकारले पनि उहानलगायतका धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नाका साथै सवारीसाधनहरु बन्द गरेको छ । यस अघि फिलिपिन्समा पनि आइतबार एक जनाको ज्यान गएको थियो ।

उनी पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । “चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो,” डब्लुएचओको भनाई छ ।