जनता टाइम्स

२१ माघ २०७६, मंगलवार १४:२२

उत्तरी अफगानिस्तानमा भिडन्त, १३ जनाको मृत्यु


अफगानिस्तान, माघ २१

अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उहाँका एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको छ । प्रान्तीय सरकारका प्रवक्ता अब्दुल मारुफ अजरले सरकार समर्थित आदिवासी लडाकू समूह चढेको सवारी साधनलाई लक्षित गरी तालिबानले सोमबार राति जवाज्वान–सारी पुल सडकमा बारुदी सुरुङ बिछ्याएर आक्रमण गरेको जानकारी दिनुभयो ।

उक्त आक्रमणमा संलग्न तालिबान समूहका ११ जनाको मृत्यु भएको र उनीहरुलाई अफगान रेडक्रसलाई जिम्मा लगाइने पनि प्रवक्ता अब्दुलले बताउनुभयो । तालिबानको मुख्य तारो सरकार समर्थित स्थानीय नेता तोफान रहनु भएको थियो । उहाँको नेतृत्वमा गाउँमा प्रतिरोध समूह गठन गरिएको थियो । सन् २००१ मा अमेरिकी आक्रमणबाट तालिबानको सरकार पतन भएसँगै तालिबान समूहले सशस्त्र हिंसात्मक आक्रमण जारी राखेको छ ।