जनता टाइम्स

२४ माघ २०७६, शुक्रबार १२:२०

प्रहरी आएको सुइको पाएपछि भागे बम्जन, मुख्य शिष्य नियन्त्रणमा


सिन्धुली, माघ २४

बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका रामबहादुर बमजनलाई खोज्न गएको प्रहरीले सिन्धुलीस्थित आश्रमबाट उनीनिकटस्थ एक शिष्यलाई नियन्त्रणमा लिएको छ ।

बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार बमजनका शिष्यहरूले ‘महामार्ग गुरु’ भन्ने गरेका ज्ञानबहादुर बमजन ‘झ्याम्पा तोप्चेन’ लाई प्रहरीले पक्राउ गरेको हो । बिहानै ६ बजे नै आश्रम पुगेको नेपाल प्रहरीको एउटा टोलीले सोधपुछपछि उनलाई गिरफ्तार गरेको छ । घिसिङका अनुसार प्रहरीहरू नौवटा गाडीमा आएका थिए ।

तर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी नायब उपरीक्षक श्याम खत्रीले कसैलाई पनि पक्राउ नगरिएको बताउनु भएको छ । आश्रममा प्रहरी आएको थाहा पाएपछि आफूहरू गएको तर प्रहरीले प्रवेश गर्न नदिएको उहाको भनाई छ । केही प्रहरीहरू अहिले पनि आश्रममै छन् । प्रहरीले भने सोधपुछका लागि तोप्चेनलाई प्रहरी कार्यालयमा बोलाएको मात्र बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले शुक्रबार बिहानदेखि कमलामाई नगरपालिका–८ पैरेस्थित बम्जनको आश्रममा खोजी शुरु गरेको थियो । खोजीका क्रममा अनुयायीहरुले ‘असहयोग’ गरेपछि बमजनलाई फेला पर्न नसकिएको आश्रम पुगेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एक अधिकारीले जानकारी दिए ।

बम्जनमाथि व्यक्ति बेपत्ता पारेको, महिला अनुयायीमाथि जबरजस्ती करणी गरेकोलगायत आरोप छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीको निवेदनानुसार जिल्ला अदालत सर्लाहीले बिहीबार मात्रै बम्जनलाई पक्राउ गर्न अनुमति प्रदान गरेको थियो ।