जनता टाइम्स

२४ माघ २०७६, शुक्रबार १२:३६

ललिता निवास प्रकरण : किर्ते र ठगीमा पक्राउका लागि अदालतको अनुमति लिने तयारी


काठमाडौं, माघ २४

ललिता निवासको जग्गा अनियमितता प्रकरणमा संलग्नविरुद्ध प्रहरीले कारवाही अगाडी बढाउन शुरु गरेको छ । १ सय ७२ जनामाथि किर्ते र ठगीको मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको पत्राचारमाथि गृह मन्त्रालयले आज प्रक्रिया अघि बढाउने भएको हो ।

सीआईबीको पत्र उपर गृहले आजबाट प्रक्रिया अघि बढाउने मन्त्रालयका उपसचिव रामप्रसाद आचार्यले जानकारी दिनुभयो । ठगी मुद्दामा पीडित पक्षले जाहेरी दिनुपर्ने कानुनी व्यवस्था अनुसार गृह अन्तर्गतकै समरजंग कम्पनीको जग्गा मिचिएकाले मन्त्रालयमा पत्राचार गरिएको सिआइबीले उल्लेख गरेको छ । पत्र बुझिसकेपछि अनुसन्धान तीव्र पारिने उपसचिव आचार्यले बताउनुभयो ।

जाहेरी दिन ढिला नगर्ने गृहको आशय अनुसार प्रक्रिया अघि बढे किर्ते र ठगी मुद्दामा सीआबीले उल्लेख गरेका १ सय ७२ जनालाई पक्राउ गर्न बाटो खुल्ने छ । गृहमन्त्रालयको जाहेरी पत्र काठमाडौं जिल्ला अदालतमा लगेर पक्राउका लागि सिआबीले अनुमति लिनेछ । जस अनुसार प्रतिवादीलाई पक्राउ गरी फौजदारी मुद्दामा अनुसन्धान गर्न बाटो खुल्नेछ ।

सीआईबीले तयार पारेको प्रतिवेदनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, छविराज पन्त, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख भइसकेका पूर्वसचिव दीप बस्न्यात, तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारी, बहालवाला सहसचिव तेजप्रसाद पाण्डेलगायत १ सय ७२ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान हुनुपर्ने राय दिएको छ ।