जनता टाइम्स

२४ माघ २०७६, शुक्रबार १६:४९

बालुवाटार जग्गामा पूर्वप्रधानमन्त्री माधव नेपाल भन्नुहुन्छ : दोषी कोही नउम्किउन र निर्दोष नफसुन


विराटनगर, माघ २४

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा को दोषी र कोषी निर्दोष भन्ने कुरा आफुलाई थाहा नभएको बताउनु भएको छ । यद्यपी उहाले आफु दोषी नरहेको स्पष्ट पार्नुभयो ।

कांग्रेस नेता विजयकुमार गच्छदार दोषी हुन् होइनन् आफूलाई थाहा नभएको बताउदै उहाले दोषी भए कारबाही हुनु पर्ने र निर्दोष भए फस्‍न नहुने बताउनु भयो । अख्तियारले सो प्रकरणमा मुद्दा दायर गरेपछि पहिलो पटक शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै तत्कालिन प्रधानमन्त्री रहनु भएका नेता नेपालले कोही पनि निर्दोष पर्न नहुने जिकिर गर्नुभयो ।

कांग्रेसले गच्छदारलाई फसाएको तर जग्गाको लालपुर्जा हुनेहरुलाई अख्तियारले उन्मुक्ति दियो भनिरहेको छ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा नेपालले भन्नुभयो, ‘त्यस्तो हो भने मलाई थाहा छैन तर निर्दोष मान्छेलाई फसाइएको हो भने त्यो गलत हो ।’ उहाले अख्तियारले पार्टीगत रुपमा कसैलाई जोगाएको र कसैलाई फसाएको जस्तो आफूलाई नलागेको पनि स्पष्ट पार्नुभयो । ‘अख्तियारले मुद्दा दायर गर्दा कसैलाई जोगाएको र कसैलाई फसाएको जस्तो लाग्दैन तर यदी पार्टीगत रुपमा गरेको हो भने उपयुक्त होइन,’ नेपालले भन्नुभयो ।

नेपालले ललिता निवास जग्गा प्रक्रणमा आफू दोषी नभएको दाबी भने गर्नुभयो । ‘दोषी र अपराधी जोसुकै भए पनि कसैले पनि उन्मुक्ति पाउनु हुँदैन,’ नेपालले भन्नुभयो, ‘ललिता निवास जग्गा प्रक्ररणमा म दोषी, अपराधी र भ्रष्टाचारी होइन, भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यता राख्दछु ।’

उहाले आफ्‍नो पालोमा कुनै नयाँ मोही बनाउने काम नभएको प्रस्ट्याउनु समेत भयो । ‘कुनै कार्यालयमा भ्रष्टाचार हुन्छ भने त्यस कार्यालयका सबै दोषी हुँदैन जसले बदमासी गर्छ उही दोषी हुन्छ,’ नेपालले भन्नुभयो । कोही पनि निर्दोष मान्छे पर्न हुँदैन र दोषी मान्छे छुट्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको नेपालको भनाइ थियो।