जनता टाइम्स

२४ माघ २०७६, शुक्रबार १७:५४

छाउनीको १५ रोपनी जग्गामा प्रेरणाको दावी नपुग्ने सर्वोच्चको फैसला


काठमाडौं, माघ २४

सर्वोच्च अदालतले काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा नेपाल ट्रष्टको नाममै रहने फैसला गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दावी गर्दै पुन दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमान सिंहको इजलासले सो आदेश गरेको हो । २०६४ पुस १ मा सरकारले पूर्वराजा वीरेन्द्रको सम्पत्तिका रुपमा रहेको जग्गा नेपाल ट्रष्टमा गाभ्ने निर्णय गरेको थियो । छाउनीको जग्गा आफ्नो दाइजो भएको दावी गर्दै प्रेरणा पहिलो पटक २०७१ माघ २५ मा सर्वोच्च अदालत पुग्नु भएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराले २०७२ असोजमा प्रेरणाकै पक्षमा फैसला गरेका थिए । तर उक्त फैसलाविरुद्ध नेपाल ट्रष्टले पुनरावलोकनको निवेदन हालेको थियो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको संयुक्त इजलासले २०७३ पुस २१ गते सो जग्गा ट्रष्टको हुने फैसला गरेको थियो । तर, आफूले दाइजोको रुपमा पाएको जग्गा सरकारले नेपाल ट्रष्टअन्तर्गत ल्याउन नमिल्ने भन्दै प्रेरणाले २०७५ पुस ६ गते फेरि रिट दायर गरेकी थिइन् ।