जनता टाइम्स

२४ माघ २०७६, शुक्रबार १८:४१

आलमलाई अर्को झट्का : थुनामै राख्न उच्चले पनि दियो आदेश


काठमाडौं, माघ २४

उच्च अदालतले नेपाली कांग्रेसका सांसद मोहम्मद आफताव आलमलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । योसँगै जेलबाट छुट्ने आलमको प्रयास असफल भएको छ ।

उच्च् अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले आलमलाई थुनामा राख्ने जिल्लाकै आदेशलाई सदर गरेको हो । अस्थायी इजलास वीरगगञ्जका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा नै राख्ने रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ ।

२९ कात्तिकमा रौतहत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्लाको आदेशपछि आलम पूर्पक्षका लागि नख्खुस्थित कारागारमा छन् । उच्च सरकारी वकील कार्यालय वीरगञ्जले रौतहटमा विचाराधीन मुद्दा पर्सा जिल्ला अदालत सार्न भन्दै १ पुसमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगगञ्जमा निवेदन दर्ता गरेको थियो ।

जिल्ला अदालत रौतहटमा विचाराधिन उक्त मुद्दा पर्सामा सार्न भन्दै मुद्दासँग सम्बन्धित पक्षले प्रतिवेदन उच्च सरकारी वकिल कार्यालयमा दर्ता गरेका थिए ।