जनता टाइम्स

२६ माघ २०७६, आईतवार १३:०१

बोल्दाबोल्दै जव धरधरी रुनुभयो सभामुख सापकोटा


सिन्धुपाल्चोक, माघ २६ । सम्माननीय पद ग्रहण गरेपछि पहिलो पटक गृहजिल्ला सिन्धुपाल्चोकको कुभिण्डे आइपुग्नुभएका सभामुख अग्नि सापकोटा भाषण गर्दा गर्दै धरधरी रुनुभएको छ । शनिबार चौतारा–साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४३ औँ वार्षिकोत्सवमा आइपुग्नुभएका सभामुख एकाएक रुन थालेपछि केहीबेर माहोल नै स्तब्ध बन्न पुग्यो । आफ्नो भनाई राख्दाराख्दै सभामुख सापकोटा माओवादी जनयुद्धका सहिद र आमा सम्झिएर बोल्दाबोल्दै धुरुधुरु रुनुभयो ।

वार्षिकोत्सवको प्रमुख अतिथिको रुपमा मन्तव्य राख्ने क्रममा सभामुख सापकोटा दुई पटक भक्कानिनुभयो । जनयुद्धमा होमिएर साहदत भएका गाउँका दाजुभाइलाई सम्झँदै भक्कानिनु भएका सापकोटा आफ्नी आमालाई स्मरण गर्दै भावविह्ल बन्नुभयो । ‘यो एउटै गाउँबाट २२ जनाको सहादत भएको छ’ भन्ने बाक्य सकिन नपाउँदै उहाँले आफ्नो पीडा लुकाउन सक्नुभएन । सहिदको नाम लिएर आफ्नो मन्तब्य सुरु गर्नुभएका सापकोटा एक्कासी भक्कानिन पुगेपछि कार्यक्रममा सन्नाटा छायो ।

गाउँका दाजुभाइ, दिदीबहिनीले गरेको आन्दोलन र सहिदको बलिदानीले ल्याएको परिवर्तनले आफूलाई गरिमामय तहमा र्पुयाएको भन्दै उहाँले सभामुख पद उहाँहरुप्रति नै समर्पित गरेको घोषणा गर्नुभयो । ‘पदको गरिमा सदैव उच्च राख्ने छु, संसदमा सके राम्रो गर्छु । नराम्रो चाहिँ गर्दै गर्दिन,’ कार्यक्रमको मञ्चमा राखिएका सहिदका तस्बिरलाई साक्षी राखेर सभामुख सापकोटाले अठोट गर्नुभयो । सिन्धुपाल्चोकको कुविण्डे तत्कालीन माओवादीले सुरु गरेको १० वर्षे युद्धका क्रममा रोल्पाको लिवाङ, थवाङ, घर्तीगाउँ जत्तिकै चर्चित छ । माओवादीले २०५२ फागुन १ गतेदेखि जनयुद्ध घोषणा गर्नु एक महिना अगावै यहाँका धेरै स्थानीयबासी भूमिगत भइसकेका थिए । त्यसको नेतृत्व सापकोटाले नै गर्नुभएको थियो ।

युद्धका क्रममा सापकोटाका एकाघरमा भतिजा, भतिजी, आफन्तसहित २२ जनाले ज्यान गुमाउनु भएको छ । जसमध्ये अधिकांश यसै विद्यालयका पूर्व विद्यार्थी थिए । आन्दोलनमा लागेबापत तत्कालीन राज्यले २०५२ माघ १८ गते धरपकड गर्दा गाउँ रित्तो भएको सभामुख सापकोटाले स्मरण गर्नुभयो । सभामुख सापकोटाले मन्तव्य अवधिभर जनयुद्ध, माओवादी, कमरेड जस्ता शब्दावली भने प्रयोग गर्नुभएन । यस्तो शब्दावली प्रयोग गनरेको सिन्धुपाल्चोकमा सापकोटाको यो नै पहिलो भाषण हो ।

सो अवसरमा सभामुख सापकोटालाई जिल्ला समन्वय समिति, चौतारा साँगाचोकगढी नगरपालिका, इन्द्रावती, हेलम्बु, बलेफी र लिसंखुपाखर गाउँपालिकाको तर्फबाट सम्मान गरिएको थियो । त्यस्तै नागरिक समाजका अगुवा संस्थाहरु नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, जिल्ला बार, नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, निर्माण व्यावसायी संघ, शिक्षक संघ संगठनका दर्जन बढी संघ संस्थाहरुको तर्फबाट उहाँको अभिन्नदन गरिएको छ ।