बागलुङ, माघ २७ । नेपालकै त्यस्तो गाउँ छ, जहाँ सुत्केरी महिलालाई झोलिलो सुपको साटो रक्सी दिइन्छ भन्ने सुन्दा जोकोहीलाई अचम्म लाग्ला, पत्याउन पनि गाह्रो होला । तर यो यथार्थ हो । बागलुङको पश्चिम ढोरपाटनको एउटा गाउँमा सुत्केरी हुनासाथ जाँड–रक्सी खुवाउने प्रचलन अझै कायमै छ । सुत्केरी भएपछि रक्सी खाँदिन भन्न समेत पाईंदैन, अनिवार्य रुपमा रक्सी सेवन गर्नैपर्छ । अन्यत्र सुत्केरी हुँदा झोलिलो पदार्थ खुवाउने गरे पनि ढोरपाटन नगरपालिका–७ बोबाङमा भने जाँड–रक्सी खुवाउने गरिन्छ ।
‘अर्को गाउँबाट बिहे गरेर यहाँ आएको हुँ, कहिल्यै रक्सी खाने गरेको थिइनँ,’ सुत्केरी भएपछि पहिलो पटक रक्सी सेवान गर्नुपरेको यथार्थ पोख्दै स्थानीय २७ वर्षीया पुनम अदैले भन्नुभयो, ‘बच्चा जन्माएपछि रक्सी खाँदिनँ भन्न नपाइने रै’छ, पेट दुख्छ भनेर पानी खान दिँदैनन, यस अवधिमा जाँड–रक्सी मात्रै खाने हो ।’ समाजमा घरेलु हिंसा र सामाजिक अपराध बढाएको निष्कर्षसहित अधिकांश गाउँमा मदिरा नियन्त्रण गर्न अभियान थालिए पनि यो गाउँमा भने रक्सी नपिई सुत्केरीलाई सुख छैन ।
‘सुत्केरी भएको ८ महिना भयो, यस अवधिमा पानीभन्दा धेरै रक्सी पिएँ,’ पुनम जस्तै सुत्केरीपछिको कहालीलाग्दो कथा सुनाउँदै अर्की महिला सपना भण्डारी कायतले भन्नुभयो । सुत्केरीपछि सुरुमा बानी पार्नै कठिन भए पनि सासू र ससुराको जोडबलमा रक्सी पिएको उहाँको भनाई छ । कक्षा १२ सम्म अध्ययन गर्नुभएकी सपनालाई सुत्केरीले मादक पदार्थ सेवन गर्नुहुँदैन भन्ने जानकारी नभएको भने होइन । तर, गाउँ समाजको पुरानो प्रचलनबारे सासू–ससुरा र अगुवाका अगाडि आफ्नो केही जोड नचलेको बताउनु भयो ।
उहाँहरु दुई जनाको मात्र होइन, बोबाङमा रहेका कायत समुदायका हरेक महिलाको एकै खालको अनुभव छ । यहाँका सुत्केरीलाई दैनिक २ देखि ४ बोतल रक्सी र जाँड खुवाउने गरिएको छ । ‘सुरुमा अप्ठ्यारो लाग्यो, रक्सी खानु राम्रो होइन भन्ने पनि लाग्थ्यो, सुनिताले थप्नुभयो, ‘दुई छोराछोरी हुँदासम्म सासू र परिवारको करले खाएँ, त्यसपछि आफैँ खाने बानी पर्यो ।’ यस गाउँमा सुत्केरीलाई एकै दिनमा तीन पटकसम्म रक्सी सेवन गराउने प्रचलन रहेको उहाँको भनाई छ । जाँड–रक्सी नखाने हो भने बच्चाको पेट दुख्ने, सुत्केरी कमजोर हुने र दूध पनि नआउने बूढापाका तर्क गर्छन् । रक्सी सेवनको कथा सुनाउँदै स्थानीय ६४ वर्षीय लालमाया कायत भन्नुहुन्छ ‘म बुहारी हुँदा बच्चा जन्मिएपछि जबर्जस्ती खाएँ, अहिले बुहारी सुत्केरी हुँदा खान कर गर्छु, तिर्खा नलाग्दा जाँड र तिर्खा लाग्दा रक्सी खाने र खुवाउने हाम्रो चलन छ ।’
समाचार संकलनकै क्रममा सो गाउँमा पुग्नुभएका नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्षसमेत रहनुभएका पत्रकार दिल शिरिषका अनुसार सुत्केरीपछि जाँड–रक्सी खुवाउँदा आमालाई दुखाइ अनुभूति नहुने र बच्चालाई रोग नलाग्ने स्थानीयबासी बताउँछन । बच्चा जन्मिएपछि सबैजसो सुत्केरीलाई रक्सी घ्यूमा झानेर खान दिने गरिन्छ । सहज रुपमा रक्सी दिइने समाजमा ६ महिनासम्म पानी भने पिउनै दिइँदैन । जाँड रक्सीका लागि स्थानीयबासी यत्तिसम्म मेहनत गर्छन कि कुनै घरमा महिला गर्भवती भएर प्रसूति हुने दिनको हिसाब गरेर उक्त घरमा पूर्ववत तयारीसाथ जाँडरक्सी बनाउने गरिन्छ । ‘गर्भवती र सुत्केरीले मादक पदार्थ सेवन गर्नु हुँदैन भनेर पटक–पटक भनेका त छौँ,’ सोही गाउँका स्थानीयसमेत रहेका बोबाङ स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट विश्वास कायत भन्नुहुन्छ, ‘तर यो अन्धविश्वासको डरलाग्दो रूप हो, यसमा राज्यको गम्भीर ध्यान र सचेतनामूलक कार्यक्रम आउनुपर्छ ।’
ढोरपाटन नगरपालिका(७ का अध्यक्ष दीपक थापा पादक पदार्थ सेवन हानिकारक भएपनि वर्षांैदेखि प्रचलनका रूपमा विकास भएकाले तत्काल रोक्न नसकिएको स्वीकार गर्नुहुन्छ । ‘हामी जनताबाट निर्वाचित भएर आएपछि केही चेतना र जागरण ल्याउन सुरु त गरेका छौं, तर यो सजिलै रोकिँदैन, समय लाग्छ, यो प्रचलन रोक्न हामी सक्दो कोसिस गरिरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस्