जनता टाइम्स

२७ माघ २०७६, सोमबार १२:०४

भट्टराई सरकारको त्यो निर्णयले ब्यक्तिको नाममा पुग्यो मातातीर्थ र थानकोटको १७० रोपनी सरकारी जग्गा


काठमाडौं, माघ २७ । काठमाडौंको मातातीर्थ र थानकोटको करिब १ सय ७० रोपनीभन्दा बढी सरकारी जग्गा ब्यक्तिको नाममा सारिएको तथ्य खुलेको छ । दुई स्थानमा गरी ७७ वटा कित्ताको नेपाल ट्रष्टको नाममा रहेको जग्गा व्यक्तिको नाममा सारिएको तथ्य खुलेको हो ।

जनताटाइम्सलाई प्राप्त् कागजातअनुसार नेपाल ट्रष्टले आफ्नो नाममा ल्याइसकेको जग्गा तात्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको २०६९ भदौ २५ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार मोहीका नाममा दर्ता गरिएको पाइएको छ । २०६९ भदौ ११ गते मन्त्रिपरिषदमा ट्रष्टका नाममा रहेको सयौं रोपनी जग्गा व्यक्तिका नाममा ल्याउने प्रस्ताव आएको थियो । सो प्रस्तावलाई अध्ययन गरे जस्तो गरी २०६९ भदौ २५ मा निर्णय गर्दै मन्त्रिपरिषदले व्यक्तिका नाममा सार्न मालपोत कार्यालय कलंकीलाई निर्देशन दिइएको थियो । नेपाल ट्रष्टको नाममा आउनुअघिदेखि नै आफूहरु पूर्वराजपरिवारका नाममा रहेको जग्गामा मोही रहेको तर पछि सरकारीकरण भएको दाबी गर्दै निवेदन मगाएर सरकारी जग्गा ब्यक्तिको नाममा पारिएको हो ।

सोही निवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकारले मोहीको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । भट्टराई सरकारको निर्णयपछि मालपोत कार्यालय कलंकीले ट्रष्टको जग्गा व्यक्तिको नाममा सारेको हो । मोही हक अनुसार सरकारको निर्णयमा उनीहरुकै नाममा जग्गा नामसारी गरिएको मालपोत कार्यालय कलंकीको भनाई छ । भट्टराई सरकारको निर्णयअनुसार केही जग्गा नामसारी हुन बाँकी रहे पनि अधिकांश जग्गा व्यक्तिको नाममा सरिसकिएको छ ।

सोही मन्त्रिपरिषद्को निर्णयमा टेकेर मालपोत कार्यालयले व्यक्तिको नाममा धनीपुर्जा दिएको हो । भट्टराई सरकारले मातातीर्थ र थानकोट महादेवस्थानको गरी ७७ ओटा कित्ताको जग्गा नेपाल ट्रष्टबाट मोहीको नाममा दर्ता गर्ने निर्णय गरेको हो ।