जनता टाइम्स

२७ माघ २०७६, सोमबार १४:१९

पूर्वसचिव कार्कीको घरमा रहष्यमय हत्या : अचेत भेटिएकी पत्नी मुनाको पनि उपचारको क्रममा मृत्यु


ललितपुर, माघ २७ । पूर्वसचिव अर्जुनकुमार कार्कीकी सानेपास्थित निवासमा रहस्यमय हत्या भएको छ । कार्कीको घरमा कामदार झुण्डिएर मृत अवस्थामा फेला परेलगत्तै अचेत अवस्थामा भेटिनुभएकी उहाँकी पत्नी मुनाको पनि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।

आज बिहान ललितपुरको सानेपा हाइटस्थित कार्कीको निवासमा अचेत अवस्थामा फेला पर्नुभएकी मुनाको ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको र उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललिलपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो । एसएसपी राईका अनुसार घटना रहस्यमय देखिएकोले यसबारेमा अनुसन्धान सुरु गरिएको छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरको टोलीले घटना भएको घरलाई घेरामा राखेर अनुसन्धान गरिरहेको छ ।

कामदार झुण्डिएको अवस्थामा भेटिनु र श्रीमति पनि टाउकोमा चोट र नील डामसहित अचेत अवस्थामा भेटिएर मृत्यु हुनुले घटना निकै शंकास्पद भएको र एउटा संगठित हत्या हुनसक्ने आशंका गरिएको छ । ‘यो घटना निकै रहस्यमय देखियो, हामी गम्भीर ढंगले सुष्म अनुसन्धान गरिरहेका छौं,’ एसएस्पी राईले भन्नुभयो । प्रहरीले दुवै शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा पठाएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि घट्नाको थप रहस्य खुल्ने राईले जानकारी दिनुभयो ।