जनता टाइम्स

२८ माघ २०७६, मंगलवार ०९:४६

मुना हत्या प्रकरण : बलात्कारपछि हत्याको आशंका


काठमाडौं, माघ २८ । पूर्वसचिव अर्जुनकुमार कार्कीकी पत्नी मुनाको हत्या गरी कामदारले आत्महत्या गरेको प्रहरीले सुरुआती निष्कर्ष निकालेको छ । ललितपुरको सानेपास्थित कार्कीकै घरमा सोमबार बिहान सो घटना भएको निश्कर्ष प्रहरीले निकालेको हो । सोमवार बिहान कार्की निवासमा मुना अचेत अवस्थामा फेला पर्नुभएको थियो भने कामदार बिजय चौधरी मृत भेटिएका थिए । घरमा एक्लै भएको मौका पारी सहयोगीका रूपमा राखिएका २२ वर्षीय कामदार विजय चौधरीले ४९ वर्षीया मुना कार्कीको हत्या गरेका सिसिटिभी फुजेटमा देखिएको हो ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले कार्कीको घरमा रहेका तीनवटा सिसिटिभी क्यामेराबाट रेकर्ड गरिएका दृश्य सोमबार दिउँसो हेरेको थियो । प्रहरी स्रोतका अनुसार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनाको हात बाँधेको दृश्य देखिएको छ भने त्यसपछि चौधरी र मुनाबीच केहीबेर घम्साघम्सी भएको पनि रेकर्ड भएको छ । तर, त्यसबीचमा १३ मिनेटसम्म कुनै दृश्य देखिँदैन ।

‘१० बजेर २३ मिनेटमा चौधरीले मुनाको टाउकोमा केही चिजले सात पटक हिर्काएको पनि फुटेजमा देखिन्छ । त्यसपछि ४५ मिनेटसम्म उनी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिन्छन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने । फुजेटअनुसार बिहान ११ बजेर ८ मिनेटसम्म चौरधी किचेनमा ओहोरदोहोर गरिरहेको देखिएका छन।

११ बजेर २० मिनेटमा घर आइपुगेका पूर्वसचिव कार्कीले चौधरीको शव झुण्डिएको अवस्थामा देख्नुभएको थियो । ‘प्लास्टिकको डोरीले पछाडिबाट मुनाको हात र घाँटीमा कसेको देखिन्छ,’ ती प्रहरी अधिकारीले भने, ‘त्यसपछि मुना भुईंमा लडिन । अनि निलो पिर्काले मुनाको टाउकोमा हानेका थिए ।’ यो घटना भान्साकोठामा भएको थियो । त्यसपछि चौधरीले मुनालाई बाँधेको डोरीमा समातेर घिसारेको पनि सिसिटिभी फुटेजमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

त्यसपछि चौधरीले किचनसँगैको बरण्डामा गएर डोरीमा झुन्डिएर आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यद्यपी, यसविषयमा प्रहरीका कुनै पनि अधिकारीले आधिकारिक रूपमा केही बताएका छैनन् । स्रोतका अनुसार चौधरीले बलात्कार गरेपछि हत्या गरेर आफूले पनि आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । चौधरीको ‘अन्डरवेयर’मा रगत र विर्य जस्तो बस्तु लत्पतिएको देखिएको छ। पूर्वसचिव पत्नी मुनाको मासिकश्राव चलिरहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । यद्यपी त्यो विर्य हो कि होइन् भनेर परिक्षण गरेपछि मात्र थाहा हुने प्रहरीले जानकारी दिएको छ । के कारणले घटनाको मोड हत्यासम्म पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यद्यपि, पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थप भन्न सक्ने प्रहरीले बताएको छ ।

अचेत मुनालाई अपराह्न सवा १२ बजे स्थानीय केही छिमेकीले सानेपास्थित स्टार अस्पताल ल्याएका थिए । अस्पताल ल्याउनेबित्तिकै मुनालाई डाक्टर मन्जिता बज्राचार्यको टिमले हेरेको थियो । ‘उहाँलाई यहाँ ल्याउँदा पल्स थिएन । आँखा निलो भइसकेको थियो । हामीले तत्काल इसिजी गरेर हेर्यौं, त्यो पनि फ्ल्याट भइसकेको थियो,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘हातमा डोरी बाँधिएको अवस्थामा उहाँलाई यहाँ ल्याइएको थियो । यहाँ ल्याउँदा घाँटीमा, आँखा मुनी र निधारमा चोट लागेको प्रस्ट देखिन्थ्यो ।’ चिकित्सकले पनि मुनाको निधारमा कुनै गह्रुगो वस्तुले प्रहार गरेजस्तो देखिएको पुष्टि गरेका छन् ।

पूर्वसचिव कार्कीले घरमा कोही नभएको मौकापारी यस्तो बज्रपात भएको आफन्तलाई बताउनु भएको छ । कार्की सधै बिहान गल्फ खेल्न विमानस्थल अगाडि रहेको गल्फ कोर्टमा जाने गर्नुभएको थियो । सोमबार बिहान करिब आठ बजेतिर उहाँ १० वर्षीया छोरालाई स्कुल पुर्याएर निस्किनुभएको थियो । सधैँझैँ उनी गल्फ खेल्न नगई सोमबार भने पशुपतिनाथको दर्शनका लागि पुग्नुभयो । पशुपतिनाथको मन्दिर गएर दुई घण्टा लगाएर पूजापाठ गरेपछि घर फर्किनुभएका कार्कीले सुरुमा कामदारको झुन्डिएको अवस्थामा शव देख्नुभयो ।

त्यो देख्नेबित्तिकै आत्तिएका कार्कीभित्र पुग्ने बित्तिकै भान्छाकोठामा पत्नी मुनालाई रगताम्ये अवस्थामा फेला पार्नुभएको थियो । पत्नीलाई देख्ने बित्तिकै चिच्याएर गुहार मागेपछि छिमेकी पुगेको थिए । पत्नीलाई त्यो अवस्थामा देखेपछि कार्की कराउनु भयो, ओ गड, मैले दुई घण्टा लगाएर गरेको प्रार्थनाको के सजाय दियौ ?’ भगवानमाथिको भरोसा टुटेको भन्दै उहाँ विलाप गरिरहनुभएको थियो । श्रीमती गुमाउँदाको घोर पीडामा रहनुभएका कार्कीको रुँदारुँदै वाक्य पनि बसेको छ । आफूलाई भेट्न आउनेहरूलाई उहाँले सोध्ने गर्नुभएको छ, ‘म कसरी सहनु ? मैले कसरी यत्रो पीडा खप्नु ? दुर्घटना होइन यो, आफ्नै घरमा कसैले मारेको छ ।’

घटना कति बजेको हो भन्ने बारेमा प्रहरीले केही बताएको छैन, न त कार्कीले आफैँ भन्न सक्नुभएको छ । स्थानीयले घटना साढे १० बजे आसपास भएको अनुमान गरेका छन् । मुना र चौधरी मात्रै घरमा रहेका कारण अरूले थाहा पाएनन् । स्थानीयका अनुसार कार्कीले दश वर्षअघि मात्र त्यो घर बनाउनु भएको थियो । साढे दुई तले घर बनाएर कार्की परिवार बानेश्वरबाट सानेपा सरेको थियो ।

आफन्तका अनुसार कार्की र उहाँकी पत्नीबीच प्रगाढ प्रेम थियो । पत्नी आफैँ खाना पकाउनु हुन्थ्यो । श्रीमतीलाई घरको काममा सजिलो होस् भनेर कार्कीले आठ वर्षअघि दाङका चौधरीलाई कामदारका रूपमा राख्नुभएको थियो । तीन सन्तान रहेका कार्कीका दुई छोरी उच्च शिक्षाका लागि अमेरिका र अस्ट्रेलियामा छन् । २२ बर्षीय चौधरी कार्कीका १० वर्षे छोराको हेरचाहदेखि घरको कामकाजमा खटिन्थे । कार्की परिवार चौधरीको कामबाट सन्तुष्ट पनि थियो ।

फागुन १७ गते छोराको व्रतबन्धको कार्यक्रम राख्नुभएका कार्की सोमबार दिउँसो खाना खाएर निम्ता कार्ड छाप्न जाने योजनामा हुनुहुन्थ्यो । आफन्तका अनुसार अर्को महिना छोराको व्रतबन्ध गर्ने योजना मुनाकै चाहनामा बनेको थियो ।