जनता टाइम्स

२८ माघ २०७६, मंगलवार १०:४०

दुबला गाउँका घरको झ्याल झ्यालमा झुण्डाइएका यी मोबाइल फोन


बैतडी, माघ २८

तपाईं हामी मोबाईल फोन हातमा बोकेर हिंड्छौ तर बैतडी जिल्लाको दुबला गाउँका मानिस खल्तीमा मोबाईल बोक्दैनन् फोन घरको झ्यालमा डोरीले बाँधेर झुण्ड्इएको हुन्छ ।

उनीहरूले कसैलाई देखाउन यसरी झुण्ड्याएका हैनन् घर भित्र र हिँड्दा नेटवर्क नआएपछि घरको झ्यालमा मोबोईल बाँधेर झुण्ड्याउन बाध्य छन् । बैतडी जिल्लाको पुरचौडी नगरपालिकामा हतपत नेटवर्क टिप्दैन टिपे पनि घाम लागेको दिन मात्रै मोबाईलमा नेटकर्व आउने समस्याले स्थानीयले सास्ती खेप्नु परेको हो ।

शिवथा गाउँपालिकाको दुबला गाउँमा मोबाईल नेटकर्वको समस्याले गर्दा गाउँका अधिकाशं स्थानीयले भारतीय मोबाईल प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय महामलसिंह साउदले बताउनुभयो ।

अत्यावश्यक कुरा गर्नु परे अहिले पनि भारतीय मोबाईलकै प्रयोग हुने गरेको साउदले बताउनुभयो । नेपाली फोनमा बोकेर हिँड्न मिल्दैन । खल्तीमा मोबाईल बोकेर हिँड्दा नेटवर्क नआउने भएकोले घरको झ्यालमा झुण्ड्याएर राखेको साउदले बताउनुभयो ।

मोबाईल झुण्ड्याएको ठाउँबाट यताउति चलाए नेटवर्क नआउने भएकोले घामपानीबाट मोबाईल फोन जोगाउन झ्यालमा पानी छेक्ने भाँडोनै बनाएर राखेको उहाँले बताउनुभयो ।

त्यसै गरि पुरचौडी नगरपालिका र सिगास गाउँपालिकाका पनि अधिकाशं गाउँमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा स्थानीयले सञ्चारको सुविधा उपभोग गर्न पाएका छैनन् । पुरचौडी नगरपालिकामा टेलिकमको टावरमा रहेको सोलारले गर्दा घाम लागेको दिन मात्रै गाउँमा मोबाईल नेटवर्क आउने गरेको स्थानीय दिनेश नागारिले बताउनुभयो ।

बादल लागेको दिन र राती मोबाईलमा नेटर्क नहुँदा समस्या भईरहेको नागारिले बताउनुभयो । बैतडीको तल्लोस्वराड क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसित काम नगर्ने समस्या रहेकोले टेलिकमसित समन्वय गरेर गाउँपालिका भित्र सबै स्थानमा सञ्चार सुविधा उपलब्ध गराउन गाउँपालिकाले पहल गरिरहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । (गोरखापत्र)