जनता टाइम्स

२८ माघ २०७६, मंगलवार १४:३८

अर्थमन्त्री खतिवडाको निर्देशन : मुस्कानसहितको सेवा दिएर कर तिर्न जाऊँजाऊँ लाग्ने बातावरण बनाउनोस


काठमाडौं, माघ २८ । अर्थमन्त्री डा. युवराज खतिवडाले ब्यवसायीलाई मुस्कानसहितको सेवा दिएर कर तिर्न जाउँजाउँ लाग्ने बातावरण बनाउन कर प्रशासनसँग सम्बन्धित पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आन्तरिक राजश्व बिभागद्वारा आज आयोजित बायोमेट्रिक दर्ता र बिद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताले तिरेको मूल्य अभिबृद्धि कर (भ्याट) को दश प्रतिशतले हुने रकम उपभोक्ताको बैंक खातामा फिर्ता गर्ने ब्यवस्थाको शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सो निर्देशन दिनुभएको हो ।

‘सुधारको मुख्य पाटो कर प्रशासनमा रहेको हाम्रै ब्यवहार हो । यो सुधार भन्ने कुरा कागजमा लेखेर हुँदैन, कानून बनाएर पनि हुँदैन, कर प्रशासकको ब्यवहारमै सुधार आउनुपर्छ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले अव कर प्रशासनले ब्यवसायीलाई मुस्कानसहितको सेवा दिनुपर्ने आवश्यकतासमेत औल्याउनु भयो । ‘कर तिर्न जाँदा ब्यवसायीलाई खुसी बनाउने ब्यवहार नै हुनुपर्छ कर प्रशासनबाट । राजीखुसीले, हसिँलै भएर करदाता फर्कने बातावरण बनाउनु पर्छ,’ अर्थमन्त्री खतिवडाको निर्देशन थियो ।

उहाँले जतिसुकै प्रबिधिको प्रयोग गरे पनि कर प्रशासनमा रहेका ब्यक्तिहरुमा इमान्दारिता नरहे कुनै परिणाम आउन नसक्ने तथ्य पनि राख्नुभयो । ‘सदाचारिता र स्वच्छता भन्ने बिधि पालना गरेनौं भने अर्काे समस्या आउँछ । यो सुधार भन्ने कुरा कागजमा लेखेर हुँदैन, कानून बनाएर पनि हुँदैन । ब्यवहारमै हुनुपर्छ, हामीमा भित्रैबाट त्यो आउनुपर्छ । हामी प्रशासकहरु हौं, पारदर्सितामा बस्नुपर्छ,’ उहाँको भनाई थियो । अर्थमन्त्री खतिवडाले आग्रह वा पूर्वाग्रहका आधारमा कर प्रशासनमा रहेका पदाधिकारीले कसैमाथि ब्यवहार गर्न नहुनेतर्फ पनि सचेत गराउनु भयो ।

‘हामीले आग्रह वा पूर्वाग्रहका आधारमा कुनै पनि ब्यवसायीलाई ब्यवहार गर्नुहुन्न, कर तिर्न आउने सवैलाई सम्मानजनक ब्यवहार गरेर तिर्नुपर्ने कर तिराउनु पर्छ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले ब्यवसायिक जगतले कर तिर्दाखेरी धेरै सहज र सजिलो महसुस गरेको हुनुपर्ने भन्दै अवका दिनमा यो मन्त्रका रुपमा अघि बढाउन निर्देशन दिनुभयो । ‘कसैको अनुहारको रुप रंग हेरेर कर प्रशासनले तटस्थ ब्यवहार गर्ने भनेको प्रविधिकै प्रयोग हो, यस्मा हामी आफैमा इमान्दारिता चाँहि जरुरी छ,’ उहाँको भनाई थियो ।