जनता टाइम्स

२९ माघ २०७६, बुधबार ०८:५६

देश दौडाहामा जाँदै नेकपाका शीर्ष नेतृत्व : कुन प्रदेशमा कहिले हुँदैछ भेला र बैठक ? (सूचीसहित)


काठमाडौं, माघ २९ । केन्द्रीय कमिटीबाट पारित भएको विशेष अभियानमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शीर्ष नेतृत्वलाई समेत सहभागी गराउने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत सचिवालयका शीर्ष नेताहरु पनि अभियानमा जोडिने भएका छन् ।

नेकपाले फागुन महिनामा अभियानको तयारी र चैत १ गतेदेखि पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि उपत्यकासहित सातै प्रदेशमा अभियान सुरु गर्दैछ। नेकपाका महासचिव विष्णु पौडेलका अनुसार मंगलबार बिहान नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा भएको छलफलपछि प्रदेशस्तरीय भेला र बैठकका मिति तय भएका हुन्। प्रादेशिक भेला र बैठक प्रदेश ५ को बुटवलबाट सञ्चालन गर्ने र विराटनगरमा टुंगाउने नेकपाको तयारी छ। महासचिव पौडेलका अनुसार फागुन महिना अभियानको तयारी बैठक र भेला गर्ने साथै चैत,बैशाख र जेठमा अभियान सञ्चालन गर्ने गरी गृहकार्य अघि बढेको छ ।

फागुनमा हुने प्रदेश भेला र बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डसहित सचिवालयका सबै सदस्य सहभागि हुने महासचिव पौडेलले जानकारी दिनुभयो । ‘अभियानमा सचिवालयका सबै कमरेड सहभागि हुनुहुनेछ। अहिलेसम्म भेला र बैठकको मिति तय भएपनि को कहाँ जाने भन्ने तय भइसकेको छैन। केही दिनमा टुंग्याउँछौं,’ पौडेलले भन्नुभयो । नेकपाको प्रादेशिक भेला र बैठक फागुन ४ देखि सुरु भएर फागुन २१ मा सकिने छन्। चैत्र १ बाट जिल्ला जिल्लामा अभियान सञ्चालन गर्ने योजना नेकपाको छ। गत माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकले विशेष अभियानको कार्ययोजना पारित गरेको थियो।

अभियानले वैचारिक, राजनीतिक भावनात्मक एकता सुदृढ गर्ने छ । यस अभियानमा सरकारको कामको प्रचार हुने र जनसम्बन्ध विस्तार हुने नेकपाको दाबी छ। पार्टी एकताको २० महिनापछि नेकपाले तल्लो कमिटीसम्म पुग्‍ने गरी अभियान चलाउन लागेको हो। यस्तै,अभियानका क्रममा पार्टी सदस्यताको नवीकरण गर्ने योजना नेकपाको छ। अभियानमा केन्द्रीय सदस्यसहित सबै पार्टी सदस्य जोडिने छन्।

नेकपा कार्यालय सचिव ईश्वरी रिजालका अनुसार प्रदेशस्तरीय भेला एक दिन र अर्को दिन बैठकको कार्यक्रम तय भएको छ। नेकपाले प्रदेशस्तरीय भेला प्रदेश ५ बाट सुरु हुनेछ । रिजालका अनुसार प्रदेश ५ मा फागुन ४ गते भेला र ५ गते बैठक, कर्णाली प्रदेशमा फागुन ६ र ७, सुदूरपश्चिम प्रदेशमा फागुन ९ र १०, गण्डकी प्रदेशमा फागुन १२ र १३, वाग्मती प्रदेशमा १५ र १६, प्रदेश २ मा १८ र १९ र प्रदेश १ मा २० गते भेला र २१ गते बैठक तय भएको छ।

नेकपाले सबै जिल्ला हुँदै स्थानीय तहका वडा र टोलसम्म विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। फागुन महिनामा अभियानको तयारी बैठक र भेला गर्ने र चैत १ बाट अभियान सञ्चालन गरी जेठमा सम्पन्न गर्ने योजना नेकपाको छ। यस्तै असार र साउन महिनामा अभियानको समिक्षा गर्ने निर्णय नेकपाले गरेको छ।